पुर्वको पशुपतिनाथ हलेसी महादेवको महिमा, गुफाको भौगोलिक स्वरुप र उत्पति प्रशंग सहित (तस्विरहरू सहित)

खोटाङ । खोटाङ जिल्लामा रहेको हलेसीधामलाई अहिले पनि पूर्वका पशुपतिनाथ भनेर चिन्ने गरिन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वृकासुर नामक राक्षसले शिवजीलाई प्रशन्न पार्न धेरै तपस्या ग¥यो । महादेश प्रसन्न बनाएर वृकासुरले ‘मैले जस्को शिरमा हात राख्दछु त्यो व्यक्ति तत्कालै भष्म भइजावस’ भन्ने बर माग्यो ।वृकासुरको वरदान माग सुन्दा भगवानलाई खिन्न लाग्यो । त्यतिबेला वृकासुरको मनमा पार्वतीको सम्झना आयो । अहिले तत्काल महादेवको शिरमा हात राखेर भष्म पार्न पाए आफूले पार्वतीसँग भोग गर्न पाउने सोच्यो । उसले हात उचाल्दै महादेवलाई लखेटन लाग्यो । भाग्दैभाग्दै महादेव हलेसीको पहाडमा आएर लुकेर बसेको र त्यही पार्वती, गणेशलगायतका देवीदेवता विराजमान भएको भन्ने किबंदन्ति समेत रहेको छ । हलेसीमा भाकल गरेमा सबै कुराहरु पुरा हुने समेत जनबिश्वास रहेको छ ।

च्यापिएर, ठेलमठेल गरेर भगवान् हलेसी महादेवको दर्शन गर्ने घुइँचो सधै देखिन्छ । कोही जन्मद्वार, केही धर्मद्वार, कोही पापद्वार अनि कोही गर्भद्वार र कर्मद्वारमा आउने र जानेको बाक्लै भिड देखिन्छ । कोही गाईको थुनबाट दूध आउने प्रतिक्षामा हुन्छन् । खोटाङ जिल्लाको हलेसीस्थित माँझ किराँत बस्तीमा रहेको सो मन्दिर झट्ट हेर्दा निकै अद्भूत लाग्छ । सो मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा विशेष पूजा हुने गर्दछ । सोमबार र शनिबार भक्तजनको अलि बढी भीड हुन्छ । सङ्कटबाट बच्नका लागि भगवान् शिव आएर लुकेको हुनाले सो मन्दिरमा गई दर्शन गर्नाले सारा दुःखबाट छुटकारा मिल्ने विश्वास गरिन्छ ।

“पुराणमा भारत वर्षको हिमखण्ड भनेर हलेसी महादेवको बारेमा वणन गरिएको छ, आदिमकालदेखि नै तपोभूमि तथा धार्मिक तीर्थस्थलको सङ्गम भनेर परिचित छ” । पहाडमा प्वाल परेर बनेको भगवान् शङ्करको यो मन्दिर कुनै व्यक्ति कालिगढ तथा सङ्घसंस्थाले निर्माण गरेको नभईकन भगवान् शङ्करको आफ्नो रचना भएको भन्ने विश्वास छ ।

यो मन्दिरको उत्पत्ति परापूर्व कालदेखि नै भएको हो । किराती भाषामा राजालाई हो भनिन्छ । ‘पारुहाङ हो’ अर्थात् राजाभन्दा पनि ठूलो भगवान् शङ्करको रुपमा लिइन्छ । त्यसैले यहाँ हिन्दूधर्म, वुद्ध धर्म, किरात धर्म मान्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । सो मन्दिरमा २०६२ साल मङ्सिर १ देखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरको पूजा कर्म हुँदै आएको छ । गिरी पुजारी राख्ने चलन छ । मन्दिरको २६ रोपनी जग्गामा महादेव र पार्वतीको मन्दिरसहित बसाहा र भैरव गुफा छ ।

गत वर्ष सुनकोसी पुल बनेपछि भक्तजनको सङ्ख्या बढ्दै गएको छ । वार्षिक रु १७/१८ लाख भेटी सङ्कलन हुने गर्दछ । मन्दिरको व्यवस्थापन, पुजारी गरी मासिक रु ४५ हजार खर्च लाग्छ । मन्दिरमा एक मूल पुजारी र दुई बाल पुजारी छन् । हलेसीमा पानीको निकै हाहाकार छ । दर्शन गर्न आउने भक्तजन आफैँले पानी बोकेर जानुपर्ने अवस्था छ । भक्तजनले महादेवलाई जल चढाउनसम्म पाउँदैनन् । जल चढाउने पानीसम्म नहुँदा सुनकोसीबाटै पानी ल्याएर जल चढाउनुपर्ने अवस्था छ । सुनकोसीमा पानी बगेर खेर गइरहेको छ । तर त्यहाँका जनप्रतिनिधिको ध्यान त्यहाँ पुग्न सकेको देखिँदैन । “खोलाबाट पानी ल्याउनुपर्ने हुन्छ, ४५ किमीबाट पानी ल्याउनुपर्छ, ट्याङ्करबाट दुई रुपैयाँ लिटर पानी ल्याउनुपर्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

Loading...