पुर्नस्थापनको आशमा बढीपिडितहरुको बिद्यालयमा बास

बेलबारी । मोरङको बेलबारी र केराबारीका बाढीपिडितहरुको पुर्नस्थापना हुन नसक्दा अझैपनि बिद्यालयमै आश्रय लिएर बस्न बाध्य भएका छन । पुर्नस्थापना नभएपछि करिब १ महिनादेखि उनीहरु बिद्यालयमा बस्न बाध्य भएका छन । केराबारी गाँउपालिका र बेलबारी नगरपालिकाको सिमानामा अबस्थित श्री शहिद स्मृति प्राथमिक बिद्यालयका बेलबारीका २ परिवार र केराबारीका ५ परिवार आश्रय लिएर बसेका छन । लोहन्द्रा खोलामा आएको बाढीले घरबारबिहिन बनेका उनीहरु यतिबेला पुर्नस्थापनाको आशमा रहेका छन ।

बिहिबार सो बिद्यालयमा पुग्दा ५ परिवारका झण्डै ३० जना बढी पिडितहरु २ ओटा साँघुरा कोठामा कोच्चिएर बसेका थिए । उनीहरुले खाने कुराको अभाव नभएपनि बासको अभाव भएको र बिद्यालयले समेत अब बासको ब्यबस्था आफै गर्नु भन्न थालेपछि चिन्तामा डुबेको गुनासो गरे । ५ जनाको परिवार सहित बिद्यालयमा आश्रय लिएर बस्दै आएकी गीता दुलाले आफुहरुलाई बस्ने बासको ब्यबस्था गरिदिन माग गरिन । उनले खाने कुराको सामान्य जोहो भएपनि बास बस्ने ठाँउ नपाउँदा समस्या भएको बताईन ।

सोही बिद्यालयमा आश्रय लिएर बसेकी बाढीपिडित कृष्णी ऋषिदेबले पनि बस्ने बासको ब्यबस्था भए सहज हुने बताईन । बिद्यालयमा बसोबास गरिरहेका अधिकांश बालबालिकाहरु बिरामी समेत पर्न थालेका छन । बढीपिडितहरुको समस्या बुझन अनुगमनमा गएका बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली र वडा नम्बर २ का वडाअध्यक्ष घनश्याम गौतमले केराबारी नगरपालिका सँग समेत समन्वय गरी चाँडै पुर्नस्थापना गरिने बताए ।

उपप्रमुख पराजुलीले बाढीपिडितहरुलाई राहत दिईरहेको र पुर्नस्थापनामा समेत पहल गरिरहेको बताईन । बाढीका कारण बेलबारीमा कुनै मानविय क्षति नभएपनि दर्जनौ परिवार बिस्थापित हुनुका साथै आधादर्जन बढी परिवार घरबारबिहिन भएका छन । बेलबारीका वडा नम्बर १,२,३,लगायतका वडाहरुमा २० औँ बिगाह खेतियोग्य जमिन बगाएको छ । खोला नियन्त्रणका लागी स्थानीयले अहिले पनि अस्थायी बाँध निर्माण गरिरहेका छन ।

तपाईको प्रतिक्रिया