पर्यटकको मन जित्दै मोरङको जेफाले डाँडा

उर्लाबारी । मोरङ जिल्ला भन्ना साथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मष्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य,शिक्षा र सडकको पहुँच पुगेको छैन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ । सडक ,सञ्चार र सुरक्षाको ब्यवस्था नभएपनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ,उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामूदायिक होमस्टे ।

होमस्टेका लागि सुविधा सम्पन्न पाँच वटा घर र सम्पूर्ण पूर्वाधार तयार भए पनि त्यहाँ सम्म पुग्ने सडक,सञ्चार र सुरक्षाको ब्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई विर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाईको गन्तब्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा,कन्चनजंघा र मकालु हिमाल पनि हेर्न सकिन्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा,गाउँ,शहरहरूको मनोरम दृष्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि १ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।

मोरङ जिविसको ३६ लाख ५० हजार,धनकुटा जिविसको ५ लाख, विराट पर्यटन केन्द्र काँकडभिट्टाको २१ लाख रुपैयाँ र स्थानीयको ८ लाख बरावरको जनश्रमदान गरी कुल ७० लाख रुपैयाँमा भ्यु टावरको निर्माण गरिएको हो ।सिंहदेवीको बिहीबारे बजारबाट ३ सय मिटर उत्तर पुगेर १ हजारवटा सिंढी चढेपछि भ्यू टावर पुगिन्छ । चारतले भ्यु टावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताए ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको कोशीहरैचा नगरपालिका स्थित खोर्सानेबाट ३४ किलोमिटर उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छन् अनि छिनभर मै पानी पर्न थाल्छ ।बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम हो । भ्यु टावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ । जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीय युवराज खड्काको भनाई छ । जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल,खरायो,लोखर्के जस्ता जंगली जनावर हेर्न पाइन्छ । जेफाले सामूदायिक वनले सो क्षेत्रमा शिकार गर्न बन्देज लगाएपछि जंगली जनावर र कालिज लगायतका चराचुरुङ्गीहरुले जेफालेको सुन्दरता अझ बढाएका छन् ।

छिन्छिन्मा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने,पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यतिमात्र होइन । शान्त वातावरणमा उत्तर तर्फ बाह्रै महिना हरियो देखिने जंगलको थुम्कोमा भ्यु टावर छ , त्यही डाँडाको काखमा जिल्लाको एकमात्र मातृभुमि चिया बगान बसेको छ । जेफाले वरिपरीका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा ,अलैची,अम्लिसो ,र चियाले भरिभराउ भएका डाँडाहरू साँच्चि कै लोभलाग्दा देखिन्छन् ।

जेफालेको विकास गर्न यतिबेला जिल्ला विकास समिति मोरङ र धनकुटाले निक्कै चासो देखाएका छन् । जिविसहरूलाई विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पुरै भरथेक गरेको छ ।सुनसरी, मोरङ र धनकुटाको (चौबिसे क्षेत्र)े एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र समेत स्थापना गरिएको छ । तर, सञ्चारको उपयुक्त प्रवन्ध नहुँदा आन्तरिक पर्यटक आकर्षण गर्न सुचना केन्द्रलाई समस्या भइरहेको छ ।


जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृष्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताईन् ।

जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामूदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो ।धेरै सम्भावनाहरु हुँदा हुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको ब्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकहरूलाई असजिलो हुने गरेको छ । स्थानीयवासी मनोज अधिकारी भन्छन् –सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको ब्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफै हुने थियो ।

तपाईको प्रतिक्रिया

Loading...