निसेलुङ डाँडामा भ्यु टावर बनाउने तयारी

मोरङ, २२ पुस । मोरङको टाँडी–२ मा अवस्थित निसेलुङ डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयहरु एक जुटभएका छन् । निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूका अनुसार निसेलुङ डाँडामा पहिलो चरणमा ५० मिटर अग्लो भ्यु टावर बनाउने तयारी गरिएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद डिगबहादुर लिम्बूले रु १० लाख र गाविसबाट रु दुई लाख विनियोजन गरिएको छ । त्यही बजेटका भरमा भ्यु टावर निर्माण शुरु गरिएको हो । टावर निर्माणका लागि बहुवर्षे योजना बनाएर पर्यटकीय केन्द्र निर्माणको काम सुरु गरिएको निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष लिम्बूको भनाइ छ ।

मादेनका अनुसार आन्तरिक पर्यटक भित्र्याउनका लागि योजना बनाएर काम थालिएको हो । उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै निसेलुङ डाँडामा पुग्न सकिन्छ ।

निसेलुङ डाँडाबाट तराईका समथल भूभागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक अवलोकन गर्न सकिन्छ । त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विश्वास स्थानीय अर्जुनसिंह लिङदेनको भनाइ छ ।

“निसेलुङ’ शब्द लिम्बू भाषाको हो । लिम्बू भाषामा निसेलुङ भन्नाले राम्रो अर्थात ‘कोसेढुङ्गा’ भन्ने हुन्छ । अध्यक्ष लिम्बूका अनुसार डेढ दशकअघि स्थानीयले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...