निषेधित क्षेत्रमा नै रोकिन्छन् सवारीसाधन, जनशक्ति अभावमा कार्यन्वयन पक्ष फितलो

उर्लाबारी / बढ्दो सडक दृर्घटनालाई न्यूनिकरण गर्ने उदेश्य सहित ट्राफिक प्रहरी कार्यालय उर्लाबारीले जथाभावी सवारीसाधन रोक्नमा रोक लगाएको भएता पनि कार्यन्वयन नहुँदा जोखिम न्यूनिकरण हुन सकेको छैन् । दुर्घटनाको उच्च सम्भावना रहेका स्थानहरुमा ट्राफिक प्रहरीले रोक्न निषेध लेखिएका बोर्डहरुको प्रयोग गरेको भएता पनि उक्त बोर्डहरुको नै धज्जी उडाएर सोही स्थानका आसपासमा दिनहुुँ सवारी साधन रोक्ने गरिएको पाईन्छन् । उर्लाबारी चोकसँगै रहेको ट्याक्सी स्टान्डको दक्षिण पट्टीको स्थानमा निषेधित बोर्डको बेवास्ता गरेर दैनिक सवारी साधन रोक्दै आएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने उक्त स्थानमा पूर्वबाट पश्चिमतर्फ जाने छोटो तथा लामो दुरीका सवारी साधनहरु रोक्ने गरेका छन् । यात्रु ओराल्न र चढाउन प्रयोग हुँदै आएको उक्त स्थानमा निषेधित बोर्डको दिनहुँ अवज्ञा हुदैँ आएको स्थानीय बताउँछन् । निषेधित क्षेत्रमा रोकिएका बसहरुसँग दैनिक रकम उठाइरहेका भेटिन्छन् पूर्वान्चल बस व्यवासायी संघका कर्मचारी । प्रत्येक बसबाट १० रुपैयाँका दरले रकम उठाउँने ति कर्मचारीलाई निषेधित क्षेत्रमा किन पैसा उठाएकोे भन्ने प्रश्नमा बस जहाँ रोके पनि पैसा उठाउनु आफ्नो काम रहेको र कुन स्थानमा रोक्न दिने नदिने टार्पिmक प्रहरीले हेर्ने उनले बताए ।

जनशक्तिको अभावले गर्दा सबै ठाउँमा एकैपल्ट पुग्न समस्या भएको र त्यसैको फाईदा उठाएर निषेधित स्थानहरुमा सवारीसाधन रोकिदै आएको उर्लाबारी ट्राफिक प्रमुख एवं प्रहरी सहायक निरीक्षक लक्ष्मी ओझाले बताएका छन् । निषेधित स्थानमा रोकिएको भेटिए ५ सय देखी १५ सयसम्म जरिवना लिदै आएको पनि ओझाले जानकारी दिए । बढ्दो सडक दृर्घटनालाई न्यूनिकरण गर्न र सवारी आवात जावातमा समस्या नहोस् भनेर भिड्भाड हुने स्थानहरुमा सवारीसाधन रोक्नमा रोक लगाएकोले यसलाई रोक्नमा सवारी चालक र स्थानीयहरुको साथ र सहयोगको आवश्यकता रहेको पनि उनले औल्याएका छन् । उर्लाबारीमा हाल ३ जना मात्र ट्राफिक प्रहरी रहेका छन् ।

तपाईको प्रतिक्रिया