डुङ्गामा सरर, जोखिममा ज्यान

बिर्तामोड /  झापाका मेची, देवनीय, विरिङ, माई लगायतका नदीमा जोखिमपूर्ण रुपमा डुङ्गा सञ्चालन गरिएपनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय झापा बेखवर बनेको छ । पुराना र टालटुल गरेका डुङ्गामा यात्रुलाई चढाएर दिनहुँ खोला वारि पारि गर्दा जोखिम बढेपनि प्रशासन वेखवर बनेको नागरिक समाजका अगुवाले बताएका छन् । गत शुक्रवार मात्रैइलामको दानाबारी र महमाई गाविसलाई जोड्ने माईखोलाको चण्डालघाटमा डुंगा दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने १० जना अझैं वेपत्ता छन् ।

अत्याधिक यात्रु चढेका कारण डुङ्गा दुर्घटना भएको डुङ्गामा सवार यात्रुले बताएका छन् । तर, झापामा पनि अत्याधिक यात्रु चढाएर नदी वारि पारि गर्दासमेत स्थानीय प्रशासन बेखबर बनेको नागरिक अगुवाको भनाई छ । मेची नदीमा भद्रपुरबाट भारत जान र आउन ढुङ्गाको प्रयोग हुँदै आएको छ । वर्षाैंदेखि मेची नदीमा पुल बन्न नसक्दा आवत–जावतमा स्थानीयवासीले डुङ्गा प्रयोग गर्दै आएका छन् । सरकारले पटक–पटक मेची पुलको शिलन्यास गर्दै काम नगर्दा त्यस क्षेत्रका स्थानीयले डुङ्गाको प्रयोग गर्दै आएका हुन् । तर , डुङ्गा चढ्दा यात्रुले लाइफ ज्याकेट बिनै जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको छ । अहिले मेची पुल निर्माणाधीन अवस्थामा रहेको छ ।


त्यस्तै भद्रपुर हुँदै गोलधाप, राजगढ लगायतका स्थानमा जान निन्दा खोलामा पनि यात्रुले डुंगाकै सहारा लिनु परेको छ । राजगढबाट शरणामति, कुमरखोद, टाँगनडुब्बा जान पनि विरिङ खोलामा यात्रुले डुंगानै प्रयोग गर्ने गरेका छन् । उता कुमरखोद हुँदै शिवगञ्ज लगायत पश्चिम दक्षिण जान पनि यात्रुले माइखोलामा डुंगाकै भर पर्नु परेको छ ।

मेची खोलासहित हुलाकी राजमार्गमा पर्ने विभिन्न खोलामा धमाधम पुल निर्माण भइरहेपनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण त्यस क्षेत्रका यात्रुले डुंगाको प्रयोग गर्ने गरेका छन् । सबै खोलामा सञ्चालन गरिएका डुंगामा आवत–जावत गर्दा लाइफ ज्याकेट बिनानै यात्रुले जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आगामी सुरक्षा समितिको बैठकमा यस विषयमा कुरा राख्ने र डुंगामा यात्रा गर्दा यात्रुको संख्या निर्धारण गर्ने, लाइफ ज्याकेटलाई अनिवार्य गराउने लगायनका विषयमा छलफल गरी निर्णय गर्ने बताउनुभयो । उहाँले बाध्यात्मक परिस्थितिमा डुंगाबाट आवत–जावत गर्नुपर्ने अवस्थालाई मध्येनजर गर्दै नागरिकको सुरक्षाका लागि यात्रु, डुंगा चालक सबैलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया