कमालका जुँगा

 

उर्लाबारीः जुँगा पाल्ने आफ्नै तरिका र सोख हुन्छ । पहिलेपहिले ‘जुँगामा ताउ लाउँदा फुर्ती आउँछ र विचार बढ्दछ’ भन्ने मान्यताका साथ जुँगा पाल्ने गरिथ्र्याे । पछिल्लोपटक काट्न अल्छी लागेर हो वा जुँगाकै रहर भएर हो, युवा पुस्तामा छेउछेउमा चुच्चो पारेको कालो जुँगाको फेसन नै चलेको छ । तर, उर्लाबारी–६ मंगलबारेका मिनबहादुर कार्की भने बामे सरिरहेको बेलादेखि नै जुँगाको भारी सोखले ८६ वर्षको उमेरसम्म जुँगा पालिरहनुभएको छ ।

नागबेली तरिकाको जुँगामा भेटिनुभएका कार्कीले हालसम्म तीनपटक बाहेक जुँगा काट्नुभएको छैन । आमाबुवा स्वर्गारोहण हुँदा जुँगा काटेको बताउनुहुने उहाँले २६ वर्षको उमेरदेखि जुँगा पाल्न थाल्नुभएको हो । ‘जुँगा नाकको पाले हो’ उहाँले भन्नुभयो, ‘नाकबाट सास लिदाँ धूलोकसिंगर नाकमा पस्न दिँदैन ।’ भारतीय सेनाका जागिरे कार्कीले सेनामा हुँदा जुँगाबापत तलब पाउनुहुन्थ्यो । १७ वर्ष सेनामा जागिर गर्नुभएका उहाँको त्यतिबेला जुँगाको भत्ता सात रूपैयाँ थियो ।

पल्टनमा आफूलाई सबैले ‘जुँगे हवल्दार’ नामले चिन्ने गरेको बताउने उहाँले जुँगा घुमाएर नागबेली बनाउन निकै समय लाग्ने र सम्भार गर्न नै कठिन हुने उहाँ बताउनुहुन्छ । जुँगा धाक र फूर्ती बढाउने साधन रहेको बताउने उहाँले जुँगा देखेर धेरैजसो मानिस डराउने गरेको स्मरण गर्नुभयो । ‘मेरो नजिक पर्ने मानिसहरू त मैले
जुँगामा ताउ दिई आँखा तरेर हेरेपछि थुर–थुर काँप्थे’ उहाँले भन्नु भयो । जुँगाको कारण आफूदेखि डराउनुका साथै जुँगाँकै कारण देख्यो कि छलीछलीकन हेर्ने पनि गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading...