एउटा रोमाञ्चक यात्रा पाथीभराकाे :: पूरा पढ्नुहोस्…

ताप्लेजुङ पाथीभरा यात्राबारे थरीथरीका सन्दर्भ सुनेको थिएँ । तीनचार घन्टाको नाक ठोक्किने ठाडो उकालो हिँड्दाहिँड्दै आधा बाटोबाटै तीर्थयात्री फर्किएको । डोकोमा बोकिएर पाथीभरा माईको दर्शन गएको र पूजा सकिएपछि हिँडेर फर्किएको । बोल्न नसक्नेहरू बोल्नसक्ने भएको । सन्तानविहीन आमाबुवा पनि पाथीभराको प्रसाद अर्थात् ‘सन्तान’ पाएर खुसी भएको । यस्तैयस्तै ।

हामी तीन यात्री पाथीभरा दर्शन खातिर काठमाडौंबाट ताप्लेजुङतर्फ लम्किरहेका थियौं । ताप्लेजुङका कुनाकन्दरा र वरिपरि फैलिएका हरियालीले हामीलाई लोभ्याइरहेथे । हामी पाथीभरा मातालाई भेट्न लोभिएका थियौं । आकाशको गड्याङगुडुङ, पहाडको पहिरो र वर्षाले हाम्रो मन भड्काइरहेको थियो, हामी उनै पाथीभराप्रति भक्तिभाव राखेर यात्रामा लम्किरहेका थियौं ।
पाथीभरा माईको अपत्यारिलो तर सत्य ‘महिमा’ सुनेपछि म माताको दर्शननिम्ति आतुर थिएँ, डेढ दशकदेखि । तर, समय र साइत जुरेको थिएन । २०७३ को बडादसैंमा पाथीभरा दर्शन गर्ने लामो समयदेखिको अभिलाषा पूरा गरेँ । अरू बेला दसैंमा पुख्र्यौली थलो पुग्थेँ, यसपालि पाथीभरा माईथानमा पुगेँ । एक दिन श्रीमतीले भनेकी थिइन्, ‘तपाईं र छोरोलाई एकपटक पाथीभरा पुर्याउने मन छ । तर पुगेर फर्किन त्यति सजिलो छैन ।’ अन्ततः यात्रा एक्लैको भएन, तीनैजनाको भयो । श्रीमती भन्थिन्, ‘असोज लाग्दा पनि पानी थामिएको छैन, पहिरो गइरहेकै छ । पहाडी हिलो बाटोमा हत्केलामा ज्यान राखेर हिँड्नु छ । आसपास घरहरू नभएको र अनकन्टार जंगलमा घन्टौं ठाडो उकालो यात्रा गर्न सानोतिनो आँटले पुग्दैन ।’ मैले पाथीभरा मातालाई सम्झेँ र साहस बटुलेर भनेँ, ‘जे त होला ।’

अचानक आकाशमा गड्याङगुडुङ सुरु भयो, चट्याङ पर्यो । पाथीभरा माईस्थानको आसपासमा बज्र कुद्यो । पाथीजस्तै फराकिलो मन्दिर आसपासमा छरिएका भक्तजनहरूले सुन्ने गरी पुजारी कराए, ‘बरखी (आशौच) बारेका कोही भए तुरुन्त मन्दिरपरिसरबाट बाहिर जानोस् ।’ माफी माग्दै एकजना दौडँदै बाहिरिए । बाहिर के पुगेका थिए, उनकै छेउमा बज्र पर्यो ।

तिनलाई केही भएन, तर ती सीडीओको बज्रले ज्यान लियो । बज्र पर्छ तर सबैलाई असर पर्दैन । मान्छे हेरीहेरी पर्छ । यसैगरी मन्दिरपरिसरमा जताततै पैसा छरिएको हुन्छ । कसैले ती पैसा टिपेर लगे तिनलाई अफापमात्रै होइन, ज्यानै जाने बताउँछन् पुजारी ।


एकपटक एक हजार भक्तजन भेला भएको बेला पाथीभरा माईथानको आसपासमा बज्र परेछ । त्यो बज्र एक भक्तका बाबुछोरीमा परेछ । सुनियो, केही दिनपछि दुवैको निधन भयो । भनिन्छ, ‘पाथीभरा माईथानमा रजवती, गर्भवती, आशौच, पापभक्त र लोभभक्तलाई ठूलो क्षति हुन्छ तर कुनै धर्म, लिंग, जात वा सम्प्रदायका मानिसलाई रोक छैन, भेदभाव छैन । माईथान जाँदा भक्तिभाव हुनुपर्छ, मन शुद्ध हुनुपर्छ र शरीर सफा हुनुपर्छ । माईको आशीर्वाद भएन भने बलियो मान्छे पनि माईथानको फेदीमा पुगेर फर्किनु परेको छ ।

पाथीभरा माईथानमा पुर्याएका नबोल्ने बालबालिकाको बोली फुटेको, आँखा नदेख्नेले आँखा देखेको, कान नसुन्नेले सुनेको चामत्कारिक एवं अपूर्व घटना भुक्तभोगीबाट सुन्न पाइयो । भक्तजनले भाकल बुझाउन लगेका पाठी, बोका बीच बाटोबाटै हराएका र मरेका छन् । २०५५ सालसम्म माईका नाममा भक्तजनले चढाएको भेटी कसैले नचलाउने हुनाले चाङ लागेको छ । छरपस्ट भएकाले हिँड्ने ठाउँसम्म छन् । बलिपूजा गर्दा बग्ने रगत कतै भेटिँदैन । बालुवामा पानी हालेजस्तो कता बिलाउँछ कता ?
बूढापाकाको भनाइ छ- माईदेवताको मन्दिरमा जान्छु नभन्नु । भनेपछि पुगेरै छोड्नू । लामो जीवन र दुःखसुख भोगेका बूढापाकाको भनाइमा सत्यता हुन्छ ।


ताप्लेजुङसँग सीमा जोडिएको पाँचथरको सदरमुकाम फिदिमकी कमला गौतमले पहिलोपटक सात दिन र दोस्रोपटक काबेलीबाट हिँडेर चार दिनको पाथीभरा यात्रा तय गरिसकेकी रहिछन् । हामीले पाथीभरा माईको दर्शन गर्ने निर्णय लिएको तेस्रो दिन काठमाडौंबाट झापा बिर्तामोड पुग्यौं । चौथो दिन बिहानै घर गौरादहबाट बुवाआमा त्यहीँ आइपुग्नुभयो । बिर्तामोडस्थित भाइ बालकृष्णको परिवारसहित पाथीभरा माताकै पाउको दर्शन र पूजाआजा गर्न चारआली जाने आमाको प्रस्तावले यात्रामा रौनक थपेको थियो । त्यसअघि मलाई थाहा थिएन, झापामै पाथीभराको पाउ स्थापना गरिएको छ भन्ने कुरा । सुनेको छु, इलाममा पनि पाथीभराको मन्दिर छ ।

अनेक व्यवधान हुँदाहुँदै पनि काठमाडौं-ताप्लेजुङको यात्रा तय भयो । षष्ठीका दिन बिहानै झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै काबेली तरेर ताप्लेजुङको फुङ्लिङटार बजार पुग्यौं । बजार पुग्ने बेलामा पहिराले सातो लियो । केही साताअघि त्यही पहिरोले तीनजनाको ज्यान लिएथ्यो । विविध कारणले तीनपटक जिप परिवर्तन गर्नुपर्यो, सन्काहा ड्राइभर र कवाडी जिपको फन्दामा पर्दा । पानी नरोकिनु र बडेमाका पहिरो छिचोल्दै जानुपर्दा हाम्रो मनमा बेलाबेलामा डरले ढ्यांग्रो ठोक्थ्यो ।

महासप्तमीमा घरघरमा बडादसैंको रौनक थियो, हामी भने त्यो दिन पाथीभरातिर लम्किरहेका थियौं । फुङ्लिङटार बजार भन्नुमात्रको थियो । हिँडिनसक्नु हिलाम्मे बाटो पनि । ब्रह्ममुहूर्तकै समयमा हामी ट्याक्सीपार्क पुग्यौं । चालकले पार्कस्थल र बजारको सडकमा बडो सकसका साथ जिप सुकेटार विमानस्थल हुइँक्याए । ती चालकको मीठो बोलीवचनले अघिल्लो दिनको चालकको छुद्र व्यवहार मेटाइदियो ।

विमानस्थल कटेपछि फेरि सुरु भयो खाल्डाखुल्डी र हिलाम्मे यात्रा । ठाउँठाउँमा जिप पनि चिप्लिन्थ्यो र हामी आत्तिन्थ्यौं । चालक इन्च, इन्च नापेर जिपको गियर फेर्थे अनि एक्सिलेटर दबाउँथे । क्लज पनि सेकेन्ड मापन गरीगरी तलमाथि गर्थे । पाथीभरा पुग्न विमानस्थलबाट दुई दिनको पैदलयात्रा रहेछ । विश्वास र आस्थाकी प्रतिमूर्ति पाथीभरा मन्दिर सदरमुकाम फुङलिङबाट पूर्वउत्तरतर्फ तीन हजार सात सय ९४ मिटर (करिब १२ हजार फिट) को उचाइमा रहेछ ।

बिहान ७ बजेतिर हामीले जिपलाई बिदा गरी पैदल यात्रा सुरु गर्यौं । संयोग भन्नुपर्छ, मौसम पनि खुल्यो । मनभरि डर थियो, लेक लाग्ने ‘साइको’को । दुईपटक पाथीभरा माईथान पुगेकी सहयात्रीसँग चिन्ता थिएन । तीन महिनाअघि झन्डै चार हजार मिटर उचाइमा रहेको डोल्पाको से-फोक्सुन्डो तीनदिने यात्राको ‘ब्याकअप’ले मेरो पनि धेरथोर चिन्ता भगाएको थियो । चिन्ता ११ वर्षीय छोरो अञ्चितको थियो । सरदर तीन÷चार घन्टा उकालो हिँड्नु छ । त्यसमाथि गह्रौं ब्याग पनि थियो । यात्रा सोचेभन्दा कठिन होलाजस्तो लाग्यो । ती सामान त्यहीँ होटेलमा छोडेर हामी उकालियौं ।

आधा घन्टाको बाटो हिँड्न एक घन्टा लागिहाल्यो तल्लो फेदी पुग्दा । ठाडो उकालो र ढुंगे बाटो त बाँकी थियो । मन त गलेको थिएन, तर ज्यान गल्दै गएको थियो । दुई घन्टा लगाएर माथ्लो फेदी पुग्यौं । माथि पुग्दा हामी थकित भइसकेका थियौं । यसअघि त न केही किन्न पाइने थियो । लेक लागे न थन्किने घर नै थियो । माथ्लो फेदी पुगेपछि लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी र गुँरासका रूख, हाँगा र पातमा छेकिँदै, छलिँदै र भलाकुसारी गर्दै उकालियौं ।

अलि माथिको मालिंगोघारी पुग्दादेखि नै अनुहारमा सातु दल्ने र खाने काम सुरु गर्यौं लेक भगाउन । पानी घुट्याउँदै र भुटेका मकैको सातु मुक्र्याउँदै पाइला गन्न थाल्यौं । बाटोमै भेटिएकाहरू नसकुन्जेल साथ दिएझैं गर्थे तर सक्नेहरू छोडिहाल्थे । वारिपारि हरियाली हामीलाई उकालिन होस्टेमा हैंसे गर्थे ।

आधा बाटो हिँडेर पाथीभरा पुग्न सकिएन भन्दै फर्किएको पनि भेटिए । फुङ्लिङ बजार आइपुग्दा कक्र्याककुक्रुक हुनेहरू पनि भेटिए । तल्लो फेदीबाटै भरिया खोजेर डोकोमा यात्रा गर्नेहरू पनि भेटिए । पाथीभरा पुग्न करिब एक घन्टा बाँकी नै थियो, छोराकै उमेरकी मोटी नानी अपत्यारिलो शैलीमा पेट फुलेर फत्रक-फत्रक पर्दै हिँड्दै थिइन् । उनलाई देखेर मैले सानो यात्रीलाई मोटो छ हिँड्दैन भन्न सकिनँ । सानो भए पनि उसको फूर्ति छुट्टै थियो ।

आधा बाटो कटेपछि श्रीमती कमलाको यात्रा पाइलैपिच्छे कष्टकर बन्दै गए । लेकको ‘साइको’ले उनलाई गाँजेछ । पाँच÷दस मिनेटको उकालोमा घोडेटो त्यो बाटोको दायाँबायाँ कतै काठको त कतै पक्काको बस्ने फलैंचा हरिया टिन लगाएर बनाएकाले यात्रीलाई राहत मिल्यो । एकैछिनको उकालोले असिनपसिन बनाउँथ्यो भने ज्याकेट वा टोपी निकाल्नेबित्तिकै चिसोले कक्रक्क बनाउँथ्यो ।

अञ्चित टाउको दुखेर ‘हिँड्न सक्दिनँ’ भन्न थाल्यो । सबैभन्दा आपत्मा म परेँ, ‘दुई सहयात्रीलाई कसरी पुर्याउने मातासामू ? ‘ बिहान ७ बजे जिप छोडेर उकालो लागेका हामी तीन सहयात्रीलाई २ बज्दा पनि गन्तव्यमा पुग्न हम्मेहम्मे पर्यो ।

पाथीभरा माईको दर्शन गरेर ओरालो लाग्नेहरूलाई सोध्दा भन्थे, ‘अब पुग्नुभयो ।’ ती यात्रीका भनाइबाट हामी सान्त्वना पाउँथ्यौं, उकालिन्थ्यौं । तर हामीलाई त्यहाँ पुग्न आधा घन्टा लाग्यो । फेदीदेखि मन्दिरसम्म डोरो टाँग्दै हिँड्ने सपना कल्पनामा सीमित भयो । हेरेरै चित्त बुझायौं । नाक ठोक्किने उकालोमा सुस्केरा हाल्दै पाइला गन्नु परेथ्यो । २ बज्दा पो पाथीभराको फेरोमा पाइला राखेछौं । बाटो केही तेर्सियो । डाँडोलाई दाहिने पारेर अघि बढ्दा फराकिलो छाती भएको पहाड पुग्यौं ।

पाथीजस्तै फराकिलो र मनमोहक डाँडोमा पुगेर पश्चिम हेर्दा हिमालयहरू सामुन्ने आएझैं लाग्यो । कुम्भकर्ण र आसपासका हिमशृंखला हाम्रो स्वागतका लागि जर्याकजुरुक उठेझैं देखिए । कुम्भकर्ण हिमालसँग कुम ठोक्किन खोज्दा सात घन्टाको उकालो हिँड्दाको थकान कता हराएछ कता ? फुत्त उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्यो । कञ्चनजंघाका भिराला फाँटहरूमा चिप्लेटी खेल्ने रहर पलायो ।


पाथीभराको बारेमा पुजारी डिल्ली आचार्यको भनाइ यस्तो छ- परापूर्वकालमा उभौली-उधौली मनाएर फर्कने क्रममा पाँचजना गोठालाले करिब पाँच सय भेडा त्यही डाँडामा राखेछन् । ती गोठालाले भेडा र मान्छे बस्ने गरी गोठ बनाएछन् । एक दिन बिहान उठ्दा एउटै भेडो पनि थिएन । त्यो अनकन्टार जंगलमा पाँच दिन पाँच रात खोज्दा पनि भेडा नभेटिएपछि उनीहरूले ‘हे परमात्मा, हे माई, करुणाकी सागर, कोही माई या देवता हुनुहुन्छ भने हामीलाई क्षमा देऊ, हाम्रा भेडाहरू हराए, खाने र बस्ने सबै चीज हराए, भेटाइदेऊ ।’

यसरी अलापविलाप गरेर गोठमा सुतेको राति सपनामा पाँच बालिका आएर गोठालालाई भनेछन्, ‘हे गोठाला हो, यहाँ नजिकै भगवती प्रकट हुनुभएको छ । त्यहाँ पाँचवटा शिला छन् । ती शिलालाई दाहिनेबाट देब्रेतिर अबिर, फूल, चन्दन र अक्षताले पूजा गर्नुपर्छ, भेडा भेटिन्छ ।’ गोठालाहरूले सपनामा बालिकाहरूले भनेझैं पूजाआजा गरेछन् भनेछन्, ‘हाम्रा भेडा भेटिए भने हामी रोज्जा भेडा बलि चढाऊँला ।’ पूजा गरेको भोलिपल्ट बिहान भेडाहरू गोठमै भेटिए । यसरी गोठालाहरूले पाँच दिन भेडा खोज्ने क्रममा अनकन्टार पाथीभरा पत्ता लागेको रहेछ ।

अर्का पुजारी टीकाराम पौडेलको भनाइ यस्तो छ- सत्ययुगमा पार्वतीले त्यस स्थानमा बालुवाको लिंग बनाएर भगवान् शिवको उपासना गर्ने क्रममा उनको शरीर त्याक्त भएको थियो । पार्थिव शरीर त्याक्त गरेको ठाउँ हुनाले पछि अपभ्रंश भएर पाथीभरा नाम रहन गएको हो । पृथ्वीमा पहिलो पाइला नै पाथीभरामै राखेको किंवदन्ती सुनाउँदै उनले फेरि भने, ‘पहाडको चुचुरोमा पाथी भरेजस्तो वस्तुस्थितिले पनि पाथीभरा भनिएको पाइन्छ । पाथीभरा माई सात÷पन्ध्र दिनको अन्तरमा सिंहमा सवार भएको नदेखे पनि पाइलाबाट थाहा हुन्छ । उहाँको शक्ति अपरम्पार छ ।’

फर्कंदाको ओरालो धेरैलाई समस्या होइन रहेछ । हिँड्नेलाई उकालो सरदर तीन घन्टाको बाटो रहेछ तर नहिँड्नेलाई आकाशै समान । केहीलाई उकालोले सातो लिने हुनाले गोडा कक्रक्क पार्दो रहेछ ओरालोमा पनि । लेकमा रहेको पाथीभरा मातामा जोकोही पुग्न सक्दैन रहेछ । त्यहाँ पुग्ने त उनै पाथीभरा माईकै भक्तजनमात्रै हुन् । पाथीभरा जान्छु भनेर सोचे वा योजना बनाउने को कति समयमै पुगे त्यो उनीहरू नै जानून्, हामी तीन यात्रीलाई त डेढ दशक लाग्यो । पुग्नै नसकिने तर पुगेपछि बिर्सनै नसकिने पाथीभरासम्मको दुर्लभ धार्मिक यात्रा ‘यात्राहरूमा विशेष’ बन्न पुग्यो । अन्नपूर्ण पोस्टबाट साभार

तपाईको प्रतिक्रिया

Loading...