असार देखि सुकेटार विमानस्थलबाट उडान बन्द : यात्रु मर्कामा

ताप्लेजुङ / कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्धारको रुपमा रहेको ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलबाट लामो समय देखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । मौषम खरावीकै कारण गत असारको सुरु देखि उडान रोकिए पछि हवाई सेवा लिनबाट यात्रु वन्चित भएका छन् । नेपाल बायु सेवा निगमले साताको बुधबार र सुक्रबार काठमाण्डौ ताप्लेजुङ उडान गर्दै आएकोमा मौषममा आएको खरावी संगै असार देखि उडान रोकिएको हो ।

लामो समय देखि उडान रोकिए पछि बाह्य तथा आन्तरिक पर्यटकहरु लामो समय लगाएर कठिनका साथ यात्रा गर्न बाध्य छन् । मेची राजमार्ग अन्तरगत पहाडी क्षेत्रको सडकमा पहिरो झर्ने लगायतका कारण दुर्घटनाको जोखिम धेरै भएकाले र समय पनि लाग्ने भएकाले प्राय यात्रुले हवाई यात्रालाई नै रोज्ने गरेका छन् । अर्का तिर गम्भिर प्रकृतिका विरामीले पनि उपचारका लागि हवाई यात्रा गर्ने गरेका छन् ।

पर्यटकिय जिल्लाको रुपमा रहेको ताप्लेजुङमा बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने गर्छ । महान पर्व दशैँ तिहार लगायतका चाडाबाड नजिकिदै गए पनि हाल सम्म उडान नहुँदा ति चाडबाडका लागि समेत टिकट बुकिङ गर्न नसकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताउनुभयो । उहाँले मौषममा पुर्ण सुधार आए दशैँमा उडान हुन सक्ने भए पनि मौषममा नै भर पर्नु पर्ने बताउनुभएको छ ।

यता कालो पत्रे गरेर दोहोरो धावन मार्ग बनाईए पनि जहाज नचल्दा आफुहरु मारमा परेको स्थानीयको भनाई छ । कालो पत्रे गरेर दोहोर धावन मार्ग निर्माण भए संगै बाह्रै महिना जहाज सञ्चालन हुने भनिए पनि यतिका समय सम्म उडान ठप्प हुदाँ स्थानीय आक्रोसित बनेका छन् ।
२०२८ सालमा निर्माण भएको यो विमानस्थललाई चार दशक पछि झण्डै ९ करोडको लागतमा कालोपत्रे गरिएको थियो ।

कालोपत्रे सहित दोहोरो धावनमार्ग बनाईए पछि बाह्रै महिना नियमित उडान हुने बताईएको थियो । कालोपत्रे पछि निजी कम्पनीका गोमा र तारा एयरले केही समय उडान भरेका थिए । हाल ति उडान बन्द रहेका छन् । पछिल्लो समयमा भने नेपाल बायु सेवा निगमले मात्र उडान गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...