१५ किलो गाँजासहित तीन जना पक्राउ

मोरङ / मोरङको रतुवामाई नगरपालिका–४ बाट प्रहरीले १५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आमवारी–गोरीगञ्ज सडक खण्डमा खुलेआम रुपमा गाँजा किनबेच हुँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रतुवामाई– २ का ५० वर्षीय भभला भनिने मेहेरोउदिन मिया, रतुवामाई –४ का ४५ वर्षीय शोभादेवी साह र उनकै छोरा २५ वर्षीय राहुल भनिने विक्की साह रहेका छन् । मियाले साह आमा छोरालाई गाँजा बिक्री गर्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्लाष्टिकको जेब्रा झोला र बोरामा राखेर गाँजा बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले भेटेपछि तीनै जना गाँजा छाडेर त्यहाँबाट फरार बनेका थिए । पछि पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ । पक्राउ परेका तीनै जना विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान अघि बढाउन सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया