स्थानीय बासिन्दाले गरे वडा कार्यालयमा तालाबन्दी

विराटनगर / विराटनगर महानगरपालिका–६ को वडा कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ । विहान गरिएको तालाबन्दी नखुल्दा सेवा लिन पुगेका सयौं सेवाग्राही मार्कामा परे । जनप्रतिनिधी र कर्मचारीलाई समेत भित्रै थुनेर तालाबन्दी गरिएको हो । बिहीबार एस्काभेटरसहित महानगरपालिकाको नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको विरोधमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका हुन् । स्थानीय दिनेशकुमार कामतले बिना जानकारी घरटहरा जवरजस्ती भत्काइएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । महानगरका मेयर भीम पराजुलीले समस्या समाधानका लागि पहल गर्नु पर्ने स्थानीयको माग छ ।

महानगरले नगररक्षक र प्रहरीको उपस्थितीमा जगदमा कामत, शंकर कामत, सुष्मा साह, नारायण भट्राई, ललित कामत र विरु सहनीको घरटहरा भत्काएको जानकारी स्थानीयले दिएका छन् । घर टहरा निर्माण गरिएको जग्गा सार्वजनिक भएका कारण भत्काइएको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका व्यक्तिहरुलाई टहरा हटाउन २४ घण्टे सूचना दिइएको तर सूचनाको अटेर गरेका कारण भत्काइएको बताए ।

तपाईको प्रतिक्रिया

Loading…