सुनसरी प्रहरीको स्विप अप्रेसन !

इनरुवा / सुनसरी प्रहरी यतिबेला लागुऔषध कारोबारीकालागि तगारो बनेको छ । हरेक दिनजसो प्रहरीले लागुऔषध बरामद सँगै कारोबारीमा संलग्नलाई पक्राउ गर्न थालेको छ । पछिल्लो ६० दिनको अन्तरमा प्रहरीले देखाएको सकृयताले जिल्लामा लागुऔषध कारोबारीमा हलचल मात्र मच्चाएको छैन् । ज्वाई मार्ने सासु ससुरा सहित श्रीमती समेतको पर्दाफास गरेको छ । सुनसरी प्रहरीले जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान छेडेको छ । त्यसकालागि उसले लागुऔषधको नेटवर्क पहिल्याउने तर्फ अनुसन्धानलाई अघि बढाएको छ । जसमा सुनसरी प्रहरी सफल समेत देखिन थालेको छ । सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको क्रममा लागुऔषध कारोबारीको निकै ठुलो नेटवर्कको समेत पर्दाफास भएको छ ।

भारतमा रही नेपाल तर्फ लागुऔषध सप्लाई गर्ने देखी सुनसरी हुँदै नेपालका विभिन्न शहर सम्म लागुऔषध पुर्याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ । सुनसरी प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुई महिने प्रगती विवरण सार्वजनिक गर्दै लागुऔषध विरुद्धको स्विप अप्रेसन लगायत कार्यालयबाट सम्पादित कामकाजका बारेमा जानकारी गराएको छ । सिआइबीमा लामो समय बसी प्रहरी प्रमुखका रुपमा सुनसरी आएका कमल थापाले स्विप अपे्रेसन लगायत विभिन्न घटना अनुसन्धान र प्रगती विवरणका बारेमा जानकारी गराए ।

थापाका अनुसार सुनसरी प्रहरीले यतिबेला दैनिकजसो ठुलो मात्रामा लागुऔषध बरामद गर्दै आएको छ । प्रहरीले लागुऔषध कारोबारीलाई समेत पक्राउ गर्दै आएको छ । सुनसरी प्रहरीले यतिबेला गम्भिर प्रकृतीका मुद्दालाई समेत प्राथमिकतामा राखी अनुसन्धान अघि बढाएको थापाको भनाई छ । प्रहरीले दिएको जानकारी अनुसार भारतमा रहेका व्यक्तिले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी सहित मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका क्षेत्रमा सप्लाई गर्ने गरेको देखिएको छ । यसैगरी प्रहरीले पत्रकार सम्मेलन मार्फत श्रीमती र ससुराली मिलेर हत्या गरिएका सुनसरीको देवानगंज गाउँपालिकाका २५ वर्षिय मिथुन उरावको हत्यारा समेतलाई सार्वजनिक गरेको छ ।

ज्वाईलाई मदिरा सेवन गराई सासु ससुरा र मृतककी श्रीमती सहितको योजनामा मिथुनको हत्या गरी खाल्टो खनी पुरिएको प्रहरीले निष्कर्श निकालेको छ । घटनामा संलग्न स्थानीय सहित सबैलाई नियन्त्रणमा लिई कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…