सुनसरीको लौकहीमा ५० करोड लागतमा प्रदेशकै ठुलो टाउन हल बन्दै


इटहरी / सुनसरीको कोशी गाँउपालिका स्थित लौकहीमा पूर्व क्षेत्रकै सवैभन्दा बढी क्षमताको टाउन हल बन्ने निश्चित भएको छ । पूर्वअर्थमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार शिलन्यास गर्दै समुद्धघाटन गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न सकिने ८ सय ५० जनाको क्षमता भएको टाउन हल निमार्णका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघीय परियोजना कार्यान्वयन ईकाइले टाउन हल निर्माण कार्यको सुरु गर्न लागेको हो ।

पचास करोड रुपैयाँ लागतको सो टाउन हलको परियोजनाको नाम लौकही सभागृह नामाकरण गरिएको छ । सभाहल भित्र तीन सय पचास जनाको क्षमता भएको एक र पाँच सय जनाको क्षमता भएको अर्को एक हल सो सभागृह भित्र रहने टाउन हलमा चमेनागृह, आधुनिक पार्किङ स्थल, अतिथिहरुका लागि बैठक कक्षलगायतको सुविधा रहने गरी निर्माण कार्य हुन लागेको हो ।

पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र न ४ का सासंद ज्ञानेन्द्रबहादुर कार्कीले आफु अर्थमन्त्री भएको समयमा तयार गरेको टाउन हलको मेघा परियोजनालाई लामो समयको अध्ययन लगायतको सर्वे पछि शहरी विकास तथा भवन निर्माण ईकाइले कार्यान्वयन थालेको बताए । सासंद कार्कीले सो क्षेत्रमा पूर्व क्षेत्रको सवैभन्दा ठुलो क्षमताको टाउन हल निर्माण भएसँगै सुनसरी क्षेत्र नं ४ को विकासमा बृहत प्याकेज बनाएर टाउन हल जस्तै परियोजना ल्याउने तयारी गरेको बताए । उनले सो परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…