सालको काठ निकासा गर्दै गर्दा बरामद

फागुन / खोटाङमा भारी मात्रामा सालको गोलिया र चिरानी काठ बरामद भएको छ । बीना कागजात जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित देउराली चुनियापानी सामुदायीक वनबाट चिसापातीतर्फ लैजाँदै गरेको अवस्थामा सालको तीन ट्याक्टर गोलिया र चिरानी काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

काठ बोक्न प्रयोग भइरहेको को २ त ७२२५, को २ त ८७४४ र ना ६ त ८९३८ नम्बरको ट्याक्टर, काठ तथा चालकलाई नियन्त्रणमा लिएर सव–डिभिजन बन कार्यालय चिसापानी समक्ष बुझाइएको प्रहरीले जनाएको छ । वन उपभोक्ता समुहको टाँचा, छोडपुर्जी, नजिकको वन कार्यालयबाट खटिएका कर्मचारीले प्रमाणित गरेको लगत वा छोडपुर्जी नभेटिएपछि काठ नियन्त्रणमा लिइएको डिएसपी केसीले बताउनुभयो ।

ट्याक्टरको माथिबाट स्याउला र दाउराले छोपेर काठ बोकेको पाइएको प्रहरीले जनाएको छ । सव–डिभिजन बन कार्यालय चिसापानीका वन रक्षक रमेश पौडेलले भने दुई भूकम्प पिडितको आवास निर्माणका लागि सामुदायीक वन उपभोक्ता समुहको आन्तरिक कटान अनुशार २० क्यूबिकफिट काठ निकालिएको हो । प्रहरीले भारी मात्रामा सालको काठ बरामद गरेपछि अधिकृत खटाएर अनुसन्धान थालिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया