सप्तरीमा आइसोलेसन अभाव, केही संक्रमित अझैं क्वारेन्टाइनमै

राजविराज । सप्तरीमा बिहीबार १६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबात प्रवेश गर्नेको संख्या सँगसँगै कोरोना संक्रमितको संख्या समेत बढन थालेपछि व्यवस्थापनको चुनौती थपिएको छ । विगत १० दिन देखि यता भारतबाट १ हजार ३ सय ६४ जना मुख्य नाकाबाट घर फिर्ता आएको र संक्रमितको संख्या समेत २ बाट बढेर ३३ पुगेपछि चुनौती थपिएको हो । जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५१ वटा क्वारेन्टाईन केन्द्र रहेकोमा बिहीबार सम्ममा १ हजार ६ सय ६४ जना क्वारेन्टाईनमा पुगिसकेका छन् ।

भारतबाट फर्किनेहरुको संख्या अहिलेपनि नघटेका कारण आउनेहरुलाई राख्न क्वारेन्टाईनमा ठाउँ अपुग हुने अवस्था देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । यसैगरी गजेन्द्र नारायण सिंह अस्पतालमा १९ जना राख्ने क्षमताको आईसोलेसन कक्ष मात्र रहेकोमा थप संक्रमितलाई राख्न ठाउँ अभाव भएको उनले बताए । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको २६ ओटै आइसोलेसन बेड भरिएपछि अन्य संक्रमितलाई हाल सम्वन्धित क्वारेन्टाइनमै राखिएको हो ।

भारतबाट लुकीछिपी स्वदेश फर्किने क्रम बढेसँगै जिल्लामा संक्रमितहरुको संख्या बढेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अस्पताल बाहेक अन्य विकल्पको रुपमा राजविराज स्थित साईकृष्णा हस्पिटलमा आइसोलेसन निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाईएको छ । शरुवातमा ६ बेडको आइसोलेशन कक्ष मात्र रहेकोले हाल विस्तार गरी १८ ओटा बेड, त्यसपछि ६ ओटा गरी २४ ओटा बेड पुर्याईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा भौतिक पूर्वाधारको अभाव रहे पनि जेनतेन विहीबारै व्यवस्थापन गरी बेड संख्या २६ पुर्याईएको छ ।

हाल आइसोलेसन बेड संख्या २६ र संक्रमित संख्या ३३ पुगेकोले तत्कालकालागि केही संक्रमितलाई सम्वन्धित क्वारेन्टाइनमै होल्डमा राख्नुपरेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले भारतबाट फर्किनेहरुको चाप बढेसँगै सप्तरीमा कोरोनाको जोखिम र व्यवस्थापनको चुनौती थपिएको बताउँदै सुरक्षा निकायका प्रमुख, स्थानिय प्रशासन, स्थानिय तह र स्वास्थ्य संस्थाका प्रमुखहरुको समेत छलफल राखेर अगामि रणनीति बनाउन लागिएको बताए ।

भारत सरकारले लकडाउनलाई खुकुलो बनाउदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्कनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढन थालेको हो । सप्तरीको ७२ किलो मिटर क्षेत्र भारतीय सिमासँग जोडिएको छ । खुल्ला सिमाका कारण निगरानीका लागि ७६ वटा पोष्ट खडा गरी सशस्त्र तथा नेपाल प्रहरीका चार सय भन्दाबढी सुरक्षाकर्मी प्रचालित छन् । भारतबाट घर फर्किनेहरु मध्ये मुल नाकाबाट प्रवेश गर्नेहरुलाई सोझै क्वारेन्टाईन पठाउँने गरिएपनि चोरबाटो हुदै र प्रहरीको आँखा छलेर प्रवेश गर्नेहरुले जोखिम झनै बढाउने भन्दै स्थानियले नाका क्षेत्रहरुमा कडा निगरानीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने मांग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…