सडक नबनाएको विरोधमा स्थानीयको प्रदर्शन, स्थित तनावग्रस्त

काठमाडौं । लामो समय भैसक्दासम्म सडक निर्माण नभएपछि स्थानीयले विरोध जनाएका छन् । चाबहिलदेखि बौद्ध–जोरपाटी हुँदै साँखु जोड्ने सडक वर्षौ बित्दा समेत खनेर अस्तव्यस्त छोडेपछि स्थानीयले विरोध जनाएका हुन् ।

काठमाडौं थलीका स्थानीयले आज स्वतःस्फूर्त प्रदर्शन गर्दै सवारी उक्त रुटमा सवारी आवागमन नै ठप्प पारेका हुन् । उनीहरुले आज बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् ।

सडक विस्तारका लागि भत्काइएको सडक लामो समय बित्दासमेत मर्मत नभएकोमा उनीहरु विरोधमा उत्रिएपछि अवस्था तनावग्रस्त भएको हो ।

स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणमा ढिलाइ भइरहेको र स्थानीयलाई समस्या भएको सर्वसाधारणले बताएका छन् । आक्रोसित युवाहरुको भीडले सरकारविरुद्ध नाराबाजी गर्दै अविलम्ब सडक मर्मत गर्न माग गरेका छन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध समेत नाराबाजी गर्दै कारबाहीको माग गरिएको छ । बर्खा लाग्न थालेदेखि यस सडकमा हिलो जम्ने र सुख्खा हुँदा धुलो उड्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…