संखुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा / संखुवासभाको उत्तरी क्षेत्रमा एक महिना अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा मकालु र भोटखोलाका सयौँ सेवाग्राही सञ्चारसेवाबाट वञ्चित भएका छन्। मकालु गाउँपालिका ५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो।

सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय सुजन गुरुङले गुनासो गरे। उनी मात्र होइन उत्तरी क्षेत्रका बासिन्दाले एक महिनासम्म आफन्तजनसँग कुराकानी गर्न नपाएको बताए। महिना दिन बित्दासमेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा स्थानीयले सञ्चार सेवाबाट वञ्चित हुनु परेको मकालु गाउँपालिका–३ का सुजन गुरुङले जानकारी दिए। गुरुङले भने हामी टेलिकम कार्यालय खाँदबारीलाई पटकपटक जानकारी गराउँदा पनि विभिन्न कारण देखाउँदै आलटाल गर्न गरेको छ।

उत्तरी क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको महिना दिन बित्दा पनि सरोकारवाला निकायले खासै चासो नदेखाएको पत्रकार गंगा विष्टले बताए। यो क्षेत्रमा बर्खायाममा घाम लागेको बेला मात्र टेलिफोन सेवा पाइने पत्रकार विष्ट बताए। यता, नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराईले उत्तरी क्षेत्रको सञ्चारसेवा चाँडै सुचारु गर्न बताए। प्रमुख भट्टराईले भने, प्राविधिक टोली माग गरिसकेका छौँ। अब केही दिनमा सेवा सुचारु हुने छ।

उत्तरी क्षेत्रका लागि खाँदबारी–४ लहरी र मकालु–५ को मांसिमामा राखिएको टेलिकमको टावर विद्युत सेवा नहुँदा घाम लागेको बेला मात्र चल्ने गरेको छ। नेपाल टेलिकम खाँदबारीमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको गुनासो निवेदनहरू चाङ लागेर थन्किने गरेका छन्।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…