लोहन्द्रा खोलाको दोहन रोक्न स्थानीयको माग

बेलबारी । मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोला नियन्त्रणको पहल गर्न र उत्खनन बन्द गर्न माग गरेका छन । स्थानीय बिशाल थापाको नेतृत्वमा रहेको स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकामा नगर प्रमुखलाई निबेदन बुझाउने कार्यक्रम रहेपनि नगरप्रमुख ज्ञानेन्द्र सुवेदी कार्यलयमा नभेटिएपछि बेलबारी नगरपालिकाका प्रबत्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीलाई निबेदन बुझाएका छन ।

बेलबारीको वडा नम्बर १ को पश्चिम भागबाट बग्ने लोहन्द्रा खोलाले दर्जनौ स्थानीयको नम्बरी जग्गा बगाएको,धनिपुर्जा अनुसार नगरपालिकालाई कर बुझाउनुपरेको तर कटानका कारण उत्पादन गर्न नसकिएको अबस्थामा नगरपालिकाले खोला नियन्त्रणका लागी प्रयास नगरेको स्थानीयको गुनासो छ । जनप्रतिनिधिहरबाट आश्वासन आएको तर काम नभएको भन्दै उनीहरुले स्थानीय निकायको ध्यानाकर्षण समेत गराएका छन ।

हरेक बर्ष बाढीबाट हुने क्षतिको न्युनिकरणका लागी प्रयास नभएको उल्टै ७ महिना अघिदेखि खोला ठेक्का लागेको बाहना बनाएर जेसिबी लगायतका मेसिन प्रयोग गरी टिफर बाट ढुंगा,गिटी,बालुवा र माटोको उत्खनन गरी नम्बरी जग्गालाई समेत धराशायी बनाएको र सिंगो गाँउ नै जोखिममा पारेको भन्दै सो कार्य तत्काल रोक्न स्थानीयको माग छ ।

नगरपालिकाले खोलामा दिर्घकालीन तटबन्धनको काम शुरु नगरे खोला उत्खननमा प्रयोग भएका कुनै सवारी साधनलाई प्रबेश नदिने र मागको सम्बोधन नगरेमा जस्तोसुकै मुल्य चुकाउन बाध्य हुने र त्यसको जिम्मेवार नगरपालिका हुनुपर्ने स्थानीय अगुवा बिशाल थापाले बताए । थापाले दोहन नरोके सो क्षेत्रमा स्थानीय आफैले रोक्ने समेत चेतावनी दिएका छन । निबेदनमा थापा सहित २५ जना स्थानीयको हस्ताक्षर रहेको छ । सोही मागको बिषयमा बेलबारी नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदीले छलफल गरी निर्णय लिने बताएका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…