लुम्बिनी मेडिकल कलेजबाट हराएका शिशुका बुवालाई रोजगार, परिवारलाई निःशुल्क उपचार

 

बेझाड / लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ । गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै हराएका नवजात शिशुका वुबालाई रोजगार र परिवारलाई निःशुल्क उपचार दिने भएको सो कलेज जनाएको हो । हराएको शिशु सकुशल भेटिएपछि कलेज प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि रोजगार र निःशुल्क उपचार गर्ने लिखित सहमति भएको अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन नगरपालिका– ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार विहान ११ः५६ मा छोरालाई जन्म दिएकी थिइन् । जन्मदिएको केही समयमा नै नवजात शिशु हराएको थियो ।

जमुनाको रेखदेखमा उनकी आमा खटिएकी थिइन् । झोलिलो खानेकुरा लिन काखमै शिशु च्यापेर होटलमा गएकी आमा समक्ष एक जना अपरिचित महिलाले सहयोग गर्ने बाहना गर्दै शिशु समात्न पुगेकी थिइन् । झोलिलो पदार्थ लिएर जमुनाकी आमालाई अस्पताल कक्षमा पठाएको र शिशु आफूले ल्याइदिने निहुँ पारी त्यसैबखत शिशु लिएर महिला बेपत्ता भएकी थिइन् । हराएको शिशुसहित चोरी गर्ने महिला शनिवार बिहान ८ बजे स्याङ्जाको र्मिमीमा भेटिएको थियो ।

शिशु चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सार्वजनिक गरेको छ । शुक्रवार दिउँसो करिव ३ बजेतिर नवजात शिशु चोरी गरी फरार रहेकी स्याङ्जा गल्याङ नगरपालिका–५ डुम्रीचौरका ४५ वर्षीय विमकला पाण्डेलाई पक्राउ गरी प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।योजनाबद्ध तरिकाले महिलाले बच्चा चोर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) दिपेन्द्र जिसीले बताउनुभयो । उहाँका अनुसार विदेशमा भएको श्रीमान्लाई आफू गर्भवती भएको र बच्चा समेत जन्माएको प्रमाण देखाउन महिलाले अस्पतालबाट शिशु चोरेर फरार भएकी थिइन् । चोरी गरेर लगेको शिशुको स्वास्थ्य अवस्था समेत सामान्य छ भने शिशु परिवारलाई बुझाइएको छ । पक्राउ परेका महिलालाई म्याद थप गरी थप अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । पत्रकार र स्थानीयहरुको सहयोगमा शनिबार महिलाई स्याङ्जाको मिर्मीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया

Loading…