लामा गुरुलाई रिहाई गर्न १२ संस्थाको संयुक्त प्रेस विज्ञप्ति

संखुवासभा / तस्करी गरेको आरोपमा पक्राउ परेका लामा गुरुलाई रिहाई गर्न संखुवासभाका १२ संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. २ मा रहेको याङ गुठि गुम्बाका प्रमुख लामा कर्मा लामालाई रिहाईका लागि याङ गुठि गुम्बा, उर्गेन छ्योलिङ गुम्बा, छ्योसालिङ गुम्बा, मकालु वरुण बौद्ध गुम्बा, तमु ह्युल छ्योजधी गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर संघ संखुवासभा, नेपाल तामाङ घेदुङ संखुवासभा, खाँदबारी भोटिया समाज, हिमालय शेर्पा साँस्कृतिक केन्द्र, नेपाल आदिबासी जनजाती महासंघ संखुवासभा, किरात राई यायोख्खा र भोटिया महिला आमा समूहले संयुक्र रुपमा मंगलबार विज्ञप्ति जारी गरेको हो ।

गुम्बाका लामालाई जेठ २० गते सदरमुकाम खाँदबारी आउने क्रममा इलाका प्रहरी कार्यालय गढी र मकालु वरुण राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको थियो । लामा गुरुले बोकेको झोला चेक जाँच गर्दा लामाले प्रयोग गर्ने जन्तर बनाउने सामानको पोकामा विभिन्न किसिमका वनस्पती र पशुपक्षीको हड्डी, रौं तथा छाला फेला पारेपछी उनलाई पक्राउ गरिएको थियो । लामाले बोकेका जन्तरका सामग्री अबैध वस्तु भनी तस्करको रुपमा पक्राउ गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

शाह वंशको पालामा तत्कालिन महाराजा राजेन्द्र विक्रम शाहको सन्तान नभएको अवस्थामा यस गुम्बाका दावा लामाको पुजापाठ तथा जन्तरबुटीले राज परिवारमा युबराजको जन्म भएको तथ्य कुरा भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । युबराजको जन्मको खुशिमा तत्काल लामालाई गुठिको लागि हालको पाथिभरादेखी उत्तरी क्षेत्र निर्धारण गरि चलाउन राजा राजेन्द्र विक्रम शाहबाट प्रस्ताव गर्दा लामाले इन्कार गरि गुम्बाबाट आफुले शंख फुक्दा जहाँसम्म सुनिन्छ त्यहाँसम्म मात्र गुठी निर्धारण तथा सिमांकनको माग गरेपछि लामाले शंख फुकेर जहाँसम्म सुनियो भनिए त्यहाँसम्म मात्र गुम्बाको सिमा निर्धारण गरि हालको गुठि गुम्बा तत्कालीन चेपुवा गाबिस वडा नम्बर ३ को भौगोलिक क्षेत्र निर्धारण गरि तत्कालीन मुख्तियार भिमसेन थापाको पालामा राजा राजेन्द्र विक्रम शाहले वि.सं. १८८१ सालमा लालमोहर प्रदान गरेको ऐतिहासिक दस्तावेज रहेको विज्ञप्तिमा भनीएको छ ।

लामालाई तस्करको रुपमा दोषी आरोप लगाई पक्राउ गरिनु बौद्ध धर्म माथि ठाडो हस्तक्षेप भएको र सम्पूर्ण आदिबासी जनजातीहरुको प्रथाजनित कानुनको खिल्ली उडाइएको विज्ञप्तिमा उल्लेख छ । गुरुलाई तस्करको रुपमा कपोलकल्पित दोषीको आरोप लगाई सोझा निमुखा माथि जबरजस्त कानुन लादिएकोमा हामी सम्पूर्ण बौद्ध धर्मावलम्वीहरु घोर आपत्ति जनाउँदछौं ।
उपरोक्त कुराहरुको आधार र दावा लामाका सन्तान कर्मा लामाको आचारण व्यवहारले समेत उहाँ तस्करी हुन नस्क्ने र ती सामान जन्तर बुट्टिमा प्रयोगको लागि ल्याइएको हो भन्ने कुरा स्पष्ट पार्दै हाम्रा धर्म गुरु कर्मा लामालाई बिना सर्त मानहानी नहुनेगरि रिहाई गरी सम्बन्धित निकायलाई सच्चिन समेत अनुरोध गर्दछौं, विज्ञप्तिमा भनीएको छ ।

तपाईको प्रतिक्रिया

Loading…