रंगेलीमा सीसी क्यामेरा जडान

विराटनगर / मोरङको पुरानो सदरमुकाम रंगेलीमा सीसी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना एवं अपराध नियन्त्रण गर्नका लागि रंगेली नगरपालिकाले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको हो ।

विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने ठाउँ र मुख्य बजार क्षेत्र गरेर ६ स्थानमा क्यामेरा जडान गरिएको छ । बसपार्क, छोटी भन्सार, भोटुवाबु चोक र नगरपालिका अगाडि क्यामेरा जोडिएको छ । नगर प्रमुख दिलिपकुमार बगडियाले रंगेली बजारलाई सुरक्षित र अपराधरहित बनाउनका लागि १७ लाख रुपैयाँ खर्च गरेर क्यामेरा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार मुख्य बजार क्षेत्रमा हुने अपराध एवं सडक दुर्घटना नियन्त्रण गर्न र प्रहरीलाई अनुसन्धानमा सजिलो बनाउन सीसी क्यामेरा जडान गरिएको हो ।

प्रहरीलाई अपराध नियन्त्रण र अनुसन्धानमा सजिलो बनाउन जडान गरिए पनि यसको निगरानी भने नगरपालिका भित्रबाटै गरिने भएको छ । नगर प्रमुख बगडिया र प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीको कार्यकक्षबाट निगरानी गरिने भएको हो । यसले सार्वजनिक विदा वा नगरपालिका नखुलेका दिन कुनै पनि घटना वा दुर्घटना भए त्यसमा संलग्नलाई तत्काल पक्राउ गर्न र अनुसन्धानलाई अघि बढाउन गाह्रो हुने प्रहरीको भनाइ छ ।

स्थानीय उमालाल राजवंशीले तत्काल पक्राउ नपर्दा घटनामा संलग्न फरार हुने भएको सीसी क्यामेराको निगरानीको जिम्मेवारी प्रहरी कार्यालयलाई नै दिनु पर्ने बताए । उनले नगरपालिका बन्द हुने भएकाले सार्वजनिक विदाका दिन कुनै घटना भए अनुसन्धानमा सजिलो नहुने र घटनामा संलग्न उम्कन सक्ने बताए । स्थानीय कमलेश मण्डलले सीसी क्यामेराको निगरानी प्रहरी कार्यालयबाटै भएमा शान्ति सुरक्षाको अवस्था मजवुत हुने बताए ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले सीसी क्यामेराको मोनिटर कन्ट्रोल रुपमा राखेर प्रहरी कार्यालयबाटै निगरानीको व्यवस्था मिलाउन नगरपालिकासँग आग्रह गरिसकिएको बताए । उनले नगरपालिकाबाट सकारात्मक आश्वासन पाएको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

Loading…