यात्रु अभावमा सुकेटार विमानस्थल

ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा विगत लामो समय यता उडान हुन सकेको छैन । मध्य वर्खामा मौषम खराबीले उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । यो वर्ष गत असार ४ गते यता उडान हुन सकेको छैन ।

मौषम खुले संगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन ईन्चार्ज राजु कार्कीले बताउनुभयो । ‘असार, साउनमा मौषम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौषम अनुकुल भए पनि १÷२ जना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ, कम्तिमा ६÷७ जना सम्म नहुँदा घाटा बेहोर्नु पर्छ’–कार्कीले भन्नुभयो । यद्यपि ४÷५ जना सम्म यात्रु पाए घाटा बेहोरेर पनि उडान सुरु गर्ने मनस्थितीमा पुगेको कार्कीले बताउनुभयो ।

सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाण्डौ उडान गर्ने नियमित कार्यतालिका छ । यता नेपाल बायु सेवा निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयको भनाई छ । पटक पटक टिकट गरेर विमानस्थलबाटै फर्कनु पर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयले गाडी नै चढ्ने गरेकाछन् ।

तपाईको प्रतिक्रिया

Loading…