मोरङमा पाँच जनामा डेंगुको संक्रमण, डेंगु विरुद्धको औषधि छर्कन थालियो

विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिकामा पनि संक्रमण देखिएपछि विभिन्न स्थानीय तहमा डेंगु विरुद्धको औषधि छर्कन थालिएको छ । सुनसरीको धरान र इटहरीपछि मोरङको सुन्दरहरैंचामा तीन र विराटनगरमा दुई जनामा डेंगुको संक्रमण देखिएको हो । उनीहरुले विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसको संक्रमण एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ ।

भाउन्ने बजारमा थोपरेर राखिएको टायरमा जमेको पानी फ्याल्दै बेलबारी नगरपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोली

विराटनगर महानगरपालिकासहित मोरङको सुन्दरहरैंचा, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी लगायतका स्थानीय तहको सक्रियतामा सरसफाई अभियान चलाएर लामखुट्टे मार्ने औषधि छर्कन थालिएको हो । विशेष गरेर सफा पानीमा बसेर दिउँसो मात्रै लामखुट्टेले टोक्दा डेंगुको संक्रमण हुने भएपछि सरसफाईमा ध्यान दिएर औषधि हान्न थालिएको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । उनले रोगको संक्रमण फैलन नदिन सरसफाईमा ध्यान दिन र सचेत रहन नगरवासीलाई आग्रह गरिएको बताए ।

विराटनगर महानगरपालिकामा बुधबारदेखि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन थालिएको छ । ४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर मालाथिन फगीङ स्प्रे गर्न थालिएको महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत एपोलोकुमार भगतले बताए । उनका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्नका लागि सफा पानी जम्न नदिने र जमेको पानीमा डढेको मोविल वा डिजेल हालिदिने ‘सर्चिङ एण्ड डिस्ट्रोए’ अभियान पनि सुरु गरिएको छ ।
महानगरले विराटनगरको १, २, ३, र १० नम्बर वडामा बुधबार औषधि छर्किएको हो । बिहीबार १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधि हान्ने कार्यक्रम छ । त्यसै गरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगीन स्प्रे गर्ने कार्यक्रम तय भएको जानकारी भगतले दिए ।

‘डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको छ,’ उनले भने, ‘यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि आग्रह गरिसकिएको छ ।’

गाउँ–गाउँमा सर्वसाधारणलाई जागरुक गराउनका लागि स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार मोटरसाइकल ग्यारेज, होटल, पसल, सार्वजनिक ठाउँ, बजार र पसल लगायतमा टोलीले सचेतना फैल्याउने छ । नगरका स्वास्थ्य संयोजक सन्तोश विश्वकर्माका अनुसार सफा पानी जमेको स्थानमा संक्रमण फैल्याउने लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्यांकीको सफाईमा ध्यान दिइनु पर्छ । यी वस्तुहरुमा सफा पानी राख्ने विषयमा पनि ख्याल राख्नु पर्ने उनले बताए ।

उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्र भित्रमा औषधि छर्कदैं नगरवासीलाई सचेत गराउने कामलाई तीव्र पारिएको मेयर खड्ग फागोले बताए । ‘बजार क्षेत्र भित्र सरसफाई गर्दै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने, ‘नगरका सबै ठाउँमा उच्च सतर्कता अपनाउन थालिएको छ ।’
डेंगु नियन्त्रणकै लागि भनेर प्रदेश १ सरकारले ८० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…