मोरङमा डुबेर दुईको मृत्यु

मोरङ / मोरङको बेलबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पानी बगिरहेको नालीमा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । बेलबारी–४ का ४८ वर्षीय पर्शुराम राईको बेलबारी–८ स्थित नालीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार नालीमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

त्यस्तै नालीमा डुबेर गम्भीर घाइते भएका मिक्लाजुङ गाउँपालिका–७ का ६५ वर्षीय रणबहादुर लुङ्गेली मगरको दिउँसो मृत्यु भएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेर बाटोमा हिंडिरहेका बेला घरदेखि एक किलोमिटर पर रहेको बाटो छेउको नालीमा खसेर उनी घाइते भएका थिए । पानी बगिरहेको नालीमा खसेर घाइते भएका उनलाई स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि मंगलबारे अस्पताल ल्याएका थिए ।  प्रहरीका अनुसार मगरको उपचारकै क्रममा मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनी पानी बगिरहेको नालीबाट उठ्न नसकेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading…