मोरङको हरकपुरमा दुई समूहबीच कुटाकुट

विराटनगर / मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा दुई समूहबीच शनिबारराति भएको दोहोरो कुटाकुटमा तीन जना घाइते भएका छन् ।

घाइते मध्ये दुईको अवस्था चिन्ताजनक छ । स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह बीच कुटाकुट भएको हो । घटनामा विसुनदेव, बलराम र किसुन घाइते छन् । उनीहरु मध्ये चिन्ताजनक अवस्थाका विसुनदेव र बलरामको न्युरो अस्पतालमा उपचार भइरहेको छ । किसुनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा हरिओम र धनीरामबीच विवाद सुरु भएको बताए । उनकाअनुसार होटलबाट निस्किएर घरतर्फ जाँदै गर्दा उनीहरुले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस क्रममा बाँस र ढुंगा हानाहान भएको थियो ।

प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ । उनीहरुको पनि शरीरका विभिन्न भागमा चोटहरु रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…