मोरङको कानेपोखरीमा सीसी क्यामेराको तार काटेर सहकारीबाट चोरी


विराटनगर / संस्था भित्र जडान गरेको सीसी क्यामेराको तार काटेर मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ ।

पाँच लाख पाँच सय ५१ रुपैयाँ शनिबारराति चोरी भएको प्रहरीले जनाएको छ । राति १२ देखि बिहान २ बजेको बीचमा चोरी भएको हुन सक्ने प्रहरीको आशंका छ । झ्यालको ग्रील फुटाएर भित्र पस्दै चोरीमा संलग्नले रकम चोरी गर्नु अघि सीसी क्यामेराको तार काटेको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए । उनका अनुसार उक्त समूहले सीसी क्यामेराको हार्डडिक्स पनि लगेको छ । बन्द गर्ने क्रममा झ्यालको एउटा पल्ला लगाउन विर्सिएका कारण त्यही पल्लाको ग्रीत तोडेर चोरी गरिएको हुन सक्ने प्रहरीको भनाइ छ ।

सहकारीको कार्यालय भूइँ तलामा छ । सहकारीका उपाध्यक्ष हरि कोइरालाले कार्यालयको पूर्वतर्फको ग्रील भत्काएर बाकस भित्र राखिएको सेभ समेत फुटाएर चोरी गरिएको बताए । उनका अनुसार आइतबार बिहान ७ बजे सहरकारी खोल्ने क्रममा परिचालक रमेश शिवाकोटीले चोरी भएको थाहा पाएर खवर गरेका हुन् । अघिल्लो दिन उठाएको बचतको रकमको हिसाव गर्नका लागि शिवाकोटी बिहानै कार्यालय पुगेको बताइएको छ ।

चोरी गर्नेको पहिचान हुन नसकेको र खोजी गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । संस्थाको आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारी भइरहेको छ । त्यसको तयारीका लागि संस्थाको सञ्चालक समितिका पदाधिकारी शनिबारराति १० बजेसम्म त्यहीं बसेर काम गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…