मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै

डोल्पा / त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो ।

विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उहाँको ज्यान बच्ने बताएपछि आफन्तको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो ।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडाँै शिक्षण अस्पताल लगियो । अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए । त्यसपछि जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको उहाँले बताउनुभयो ।

“चिकित्सकले दुई रड राखेपछि असह्य पीडाका कारण १० दिनसम्म खानासमेत नसकेको मान्छे पछि खानसक्ने मात्र भएँ तर सुधारचाहिँ भएन”, उहाँले भन्नुभयो । त्यसपछि थप उपचारका लागि भैँसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो । भैँसेपाटीमा तीन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन । चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि खर्च अभावका कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमानले बताउनुभयो ।

काठमाडाँैको महङ्गो बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा आफ्नो उपचार हुननसकेको उहाँले बताउनुभयो । आठ वर्ष पहिला परिवारमात्रै नभई विपन्न, असहाय छिमेकीको समेत सहारा बन्ने उहाँ अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा हुनुहुन्छ ।

उहाँका लागि घर बाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ । आठ वर्षदेखि त्यही ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहनुभएको छ । “पहिला बनाएको घर भए पनि ढाड भाँचिएपछि आठ वर्षदेखि घामपानी, हिउँ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरिरहेको छु”, रोकायले भन्नुभयो ।

उहाँको बिछ्याउनाको तलपट्टि जस्ता बिछ्याइएको छ । त्यसमाथि ओछ्यान राखिएको छ । जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ । दिसा गर्न मनलाग्यो भने अरुलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ । न आफैँ खान सक्नुहुन्छ न दिसापिसाबका लागि शौचालयनै जान सक्नुहुन्छ, सबै कुरा श्रीमती र छोरीले गरिदिने गर्नुभएको छ । उहाँका दुई छोरी र एक आठ वर्षीय छोरा छन् ।

“आफूलाई असह्य पीडा त छँदैछ मेरै कारणले परिवारलाई झन् दुःख भएको छ, मर्न पाए सुख हुन्थ्यो”, उहाँले रुँदै भन्नुभयो । ढाड भाँच्चिएलगत्तै उहाँलाई दाजुभाइले पैसा उठाएर उपचारका लागि काठमाडौँ लगिएको हो तर, खर्च अभावमा उपचार हुन सकेन । उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा गए पनि आर्थिक अभावका कारण लाखौँ पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर फर्किएको उहाँका भाइ विष्णुमान रोकायले बताउनुभयो ।

“निको हुने आशामा सबै गरेर रु सात लाख खर्च भइसक्यो तर अवस्था उस्तै छ, चिकित्सकले रु २५÷३० लाख भयो भने उपचार हुन्छ भनेका छन् यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन”, हरिमानले भन्नुभयो, “आफू थला परेदेखि घर खर्चका लागि पनि अरुमा भर पर्नुपरेको बेला लाखौँ कसरी पाउने र उपचार गर्ने यसै कुहिएर मर्नु्बाहेक अरु विकल्प छैन ।”

चुनावी एजेण्डा मात्र

चुनावमा उहाँलाई विभिन्न राजनीतिक दलका नेताले चुनावी एजेण्डासमेत बनाए । उहाँ र आफन्तको भोट माग्नका लागि शहरका ठूला अस्पतालमा लगेर उपचार गराउनेसमेत वाचा गरे तर चुनाव जितिसकेपछि कसैले फर्केर हेरेनन् । “दोस्रो संविधानसभाको चुनावमा भोट माग्न नेताहरु गाउँ आएका थिए, काठमाडाँै लगेर उपचार गराइदिने भन्दै सम्पूर्ण परिवार र आफन्तको भोट हाल्न अनुरोध गरे, श्रीमान्को उपचार हुने आशामा सबैलाई हात जोडेर भोट हाल्न लगाएँ तर नेताको बोली आश्वासनमा मात्रै सीमित भयो”, उहाँकी श्रीमती बुद्धिरुपाले भन्नुभयो ।

“श्रीमान्को जिउँदै मरेजस्तो जीवन परिवर्तन हुन्छ कि भन्ने आशा पलाएको थियो तर त्यो आशा नेताको बोलीमा मात्रै सीमित भएको उहाँले बताउनुभयो । “मेरो यस्तो अवस्थालाई नेताले चुनावी एजेण्डासमेत बनाए, मलाई खानाखाजा खुवाउन नदिएर परिवार र आफन्तलाई मतदान केन्द्रमा आफ्नोसहित भोट हाल्न पठाएँ तर चुनाव जितिसकेपछि फर्केर आएनन्”, हरिमानले गुनासो गर्नुभयो ।

उपचार गराएर अन्य मान्छेसरह हिँडडुल गर्नसक्ने बनाइदिन्छन कि भन्ने ठूलो आशा रहेको तर कसैले पनि चुनावी वाचा पूरा नगरेको उहाँको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण ठुली छोरीले पढाइ पूरा गर्न सकेकी छैनन् । नजिकैको जनप्रभा माविबाट एसएलसी पास गरे पनि माथिल्लो तहको शिक्षा लिनबाट उनि वञ्चित भएकी छन् । घरायसी कामकाजको बोझ, कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको भविष्य बिग्रेको बुद्धिरुपाले बताउनुभयो ।

मिसन नेपालको अभियान

हरिमानको उपचारका लागि मिशन नेपाल नामक सामाजिक संस्थाले अभियान चलाएको छ । देश–विदेशमा रहेको सहयोगी दाताहरुबाट आर्थिक सङ्कलन गरेर उपचार गर्ने लक्ष्यअनुरुप आर्थिक सङ्कलन अभियान शुरु गरिएको संस्थाका अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँको उपचारका लागि आफ्नो संस्थाको तर्फबाट रु २५ हजार सहयोग गर्ने समेत केसीले बताउनुभयो । बिरामी रोकायको नाममा जिल्ला सदरमुकाम दुनैमा रहेको सिटिजन्स बैंकमा खाता खोलिएकाले सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ । उपचारका लागि आर्थिक सङ्कलन गर्ने क्रम जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…