मादीमा ८७ घर पुन निर्माण

मादी / २०७२ वैशाख १२ को भुकम्पले क्षति पुर्याएका घरहरु मध्ये मादी नगरपालिकामा ८७ वटा घर निर्माण भएको छ । पुन निर्माणको तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ८७ जना रहेको पुन निर्माण प्राधिकरणका प्राविधिक नितेश भट्टराईले जानकारी दिए । बाँकी अन्य सिफारिसमा परेका र किस्ता लिइसकेका घरहरु निर्माणको क्रममा रहेको प्राविधिक भट्टराईले जानकारी दिए । नगरपालिका भित्र पुन निर्माणका लागि सिफारिस भएका २ सय ३२ वटा घर मध्ये पहिलो पटक १ सय ५५ जना पिडितले घर निर्माणका लागि सम्झौता गरेको थियो । जसमध्ये १ सय ५१ जनाले पहिलो किस्ताको रकम लिएका थिए । ती मध्ये १ सय १ जनाले मात्रै दोस्रो किस्ता बापतको रकम लिएको उनले नागरिक चासोलाई बताए । निर्माण सम्पन्न भएपनि प्रमाणित कागजात लिन नआएका कारण समेत संख्या थोरै देखिएको बताए ।

सरकारी अनुदान रकम कम भएको र भुकम्प पिडितहरु कम्जोर आर्थिक अवस्थाका भएका कारण दोस्रो किस्ता लिने लाभग्राही कम भएको हुनसक्ने उनले बताए । केही लाभग्राहीले पहिलो किस्ता लिए पनि सो रकम अन्यत्र खर्च गरेकाले दोस्रो किस्ता लिनेको संख्या कम भएको हो । जसले गर्दा घर निर्माण कार्य समेत अघि बढ्न नसकेको उनले बताए । केही पिडितहरु भौगोलिक विकटताका कारण सूचना नपाउनु र अनुदान पाएकाहरुले समेत प्राविधिकको विपरित आफूखुशी घर बनाएका कारण त्यस्तो घर सूचीकृत हुन नसकेको भट्टराईले जानकारी दिए । बनेका मध्ये ९५ प्रतिशत मात्र घरहरु प्राविधिकको सल्लाह बमोजिम निर्माण भएको उनले बताए ।

प्राविधिक समस्या

नगरमा १ जना मात्रै प्राविधिक हुँदा समस्या भएको उनले बताए । नगरका ९ वटै वडामा एक्लै अनुगमन तथा मुल्यांकन गर्नु पर्दा कठिन हुने गरेका उनको भनाई थियो । तर कठिनाईका बाबजुद पुननिर्माणको काम भइरहेको बताए । यसअघि पुन निर्माणका कर्मचारी तथा प्राविधिकहरुको आन्दोलन र मन्त्रालयको अन्यौलताका कारण पुननिर्माणका कार्यमा असर पुगेको उनले बताए । कर्मचारी अभावकै कारण पहिलो पटकको सिफारिसका क्रममा धेरै घर छुटेको गुनासो बढेपछी प्राविधिक सहितको टोलीले पुन २ सय ५० घर सर्वे गरेको थियो । जसमा २ सय १० घर पुन निर्माणका लागि सिफारिस गरिएको छ । तर प्राधिकरणबाट प्रमाणित हुन बाँकी रहेको उनले जानकारी दिए । राहत रकमले थोरै मात्र काम हुने र घर निर्माणका लागि रिण गर्नु पर्ने भएकाले समस्या हुने गरेको पिडीत चेतनाथ दाहालले बताए । उनले भने ठूलो परिवारलाई घर साघुरो हुने समस्याले धेरै पिडितलाई समस्या गराएको छ ।

तपाईको प्रतिक्रिया

Loading…