बेलायतवासी नेपाली लगानी गर्न इच्छुकः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताए । गैरआवासीय नेपाली सङ्घ एनआरएन बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा उनीहरूले प्रदेशमा लगानीका लागि इच्छा देखाएको बताउँदै उनले लगानी मैत्री वातावरण बनाउन आफूले प्रतिबद्धता व्यक्त गरेको बताए ।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकूद क्षेत्रमा सहारा युके लगायतका संस्थाले पनि व्यवस्थित लगानीको इच्छा देखाएको उनले बताए । भ्रमणका क्रममा मुख्यमन्त्री गुरुङले भूतपूर्व गोर्खा सैनिकसँग सामूहिक भेट गरेको र उक्त क्रममा उनीहरूले आफूले भोगिरहेको विभेदको विषयमा सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको बताए ।

भ्रमणका क्रममा पोखरा शहर र बेलायतको म्यानचेष्टर सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ । बेलायतका नेपाली भाषी जनप्रतिनिधि नर्थ योर्कसायरका प्रमुख जनक शर्मा र लण्डनका डेपुटी प्रमुख लक्ष्यु गुरुङसँग भेटी द्विपक्षीय हित र सहयोग सम्बन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक समूहसँग समेत भेट गरेको र सो क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी हुनुका साथै विभिन्न अध्ययन अनुसन्धानमा नेपाललाई सघाउने वचन प्राध्यापकहरूले दिएको मुख्यमन्त्री गुरुङले बताए । आफ्नो बेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउन महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङले जिकिर गरे । बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ यही भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

विमानस्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…