बीस स्थानीय तहमा दुई वटा दमकल, आर्थिक भार थेग्न नसक्दा भएका दमकल पनि सञ्चालनमा कठिनाई

सर्लाही / सर्लाहीका २० स्थानीय तहमा दुई वटा मात्रै दमकल हुँदा आगलागी नियन्त्रणमा समस्या भैरहेको छ । जिल्लाका ११ नगरपालिका र नौं गाउँपालिकामध्ये दक्षिणी भेगस्थित सदरमुकाम मलङ्गवा नगरपालिका र उत्तरी भेगस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिकाको गरी दुई वटा दमकल छन् । कच्ची सडक हुँदै २५÷३० किलोमिटर टाढासम्म दमकल पु¥याउनुपर्दा पटक–पटक बिग्रिएकाले दमकल सञ्चालनमा समस्या भएको ती दुई स्थानीय तहले बताएका छन् ।

सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले दुई वटा दमकल जिल्लाभर दौडाउनुपर्दा समस्या भैरहेको बताउनुभयो । पुरानो दमकल जिर्ण सडकहुुँदै २५÷३० किलोमिटर परसम्म पुग्दा बिग्रिरहने समस्या देखिएको छ, बिग्रिएपछि यहाँ बन्दैन्, वीरगञ्ज पठाउनुपर्छ, नगरप्रमुख साहले भन्नुभयो, अरु ठाउँमा आगो निभाउन जाँदा दमकल बिग्रिएर बनाउन पठाउँदा आफ्नै ठाउँमा आगलागी भएकोमा समयमा प्रयोग गर्न पाइदैन् । एक महिनाअघि सदरमुकाम मलङ्गवामा आगलागीहुँदा त्यहाँको दमकल बिग्रिएर मर्मतका लागि वीरगञ्ज पठाइएको थियो । आगो निभाउन २५ किलोमिटर टाढा हरिवन नगरपालिकाको दमकल मगाउनु भएको थियो । पुरानो भैसकेकाले छोटो समय चलाउने बित्तिकै मलङ्गवा नगरपालिकाको दमकल पटक–पटक बिग्रिने समस्या देखिँदै आएको छ । हरिवन नगरपालिकाले दमकल खरिद गर्नुअघि जिल्लाभर मलङ्गवा नगरपालिकासँग मात्रै दमकल थियो । उत्तरी भेगको हरिवन नगरपालिकालाई दक्ष जनशक्ति नहुँदा भएको दमकल चलाउन समेत समस्या भैरहेको छ । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले मर्मतसम्भारमा लाग्ने चर्को खर्च र सीमित कर्मचारीलाई घण्टौं काममा लगाएर दमकल चलाउनु गाह्रो भैरहेको बताउनुभयो । दमकल भनेको २४ सैं घण्टा तयारी अवस्थामा राख्नुपर्छ, तर पर्याप्त कर्मचारी छैनन्, भएकै कर्मचारीबाट काम चलाउने हो, नगरप्रमुख प्रसाईले भन्नुभयो, खर्च धान्न पनि समस्या परिरहेको छ, अन्त्य ठाउँमा आगो निभाउन जाँदा पनि नगरपालिकाको खर्चमा मर्मत सम्भार गर्नुपर्छ । पछिल्लो समय हरिवन नगरपालिकाले अर्को स्थानीय तहमा दमकल पठाउँदा त्यहाँका प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रहरी प्रमुखबाट माग आएपछि मात्रै पठाउने गरेको छ । अरु ठाउँमा पठाउँदा दमकल ढिलो आइपुग्यो भन्दै दमकलप्रति नै आक्रोश व्यक्त गर्न थालिएको छ, त्यसैले सुरक्षाका लागि स्थानीय तहका मेयर वा अध्यक्ष, सिडिओ र एसपीको फोन आएपछि मात्रै पठाउने गरेका छौँ, नगरप्रमुख प्रसाईले भन्नुभयो ।

आगलागी भएको बेला सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल मलङ्गवा लगायत छेउछाउका स्थानीय तहमा बेलैमा पुग्ने गरेको छ । तर, सदरमुकाम मलङ्गवाबाट टाढा पर्ने पूर्वी भेगका हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका, चन्द्रनगर गाउँपालिका र पश्चिमी भेगका बलरा नगरपालिका, गोडैता नगरपालिका, बरहथवा नगरपालिका, रामनगर गाउँपालिका, बसबसरिया गाउँपालिकामा दमकल पुग्न घण्टौं लाग्ने गरेको छ । हरिवन नगरपालिकाको दमकलले हरिवनसहित उत्तरी भेगका लालबन्दी, बागमती, ईश्वरपुर, हरिपुर लगायतका स्थानमा पुगिरहेको छ । अली ठूलो किसिमको आगलागीहुँदा हरिवन र मलङ्गवा दुवै स्थानमा दमकल पुग्ने गरेका छन् । कच्ची बाटोहुँदै दमकल जानुपर्दा आगो निभेपछि मात्रै दमकल आउने गरेको भन्दै गुनासो आउने गरेको छ । स्थानीय तहहरुमा जनप्रतिनिधीले आफ्नो सुविधाका लागि सवारी खरिद गरेको तर अतिआवश्यक दमकल राख्न चासो नदिएको भन्दै गुनासो आइरहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा दमकलको अभाव रहेको बताउनुभयो । पर्याप्त दमकल नहुँदा अहिले सुख्खा मौममा बाक्लै हुने आगलागी नियन्त्रणमा समस्या भैरहेको छ, प्रजिअ पोखरेलले भन्नुभयो, केही समय अघि जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर दमकल सञ्चालनमा लाग्ने खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै आसपासका दुई–तीन वटा स्थानीय तहसँग समन्वय गरी संयुक्त दमकल खरिद गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…