बाख्रा बचाउँदा छोराको गयो ज्यान, उदयपुरमा मृतकको संख्या तीन पुग्यो

उदयपुर / अविरल वर्षाको कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । गए राती रौतामाई गाँउपालिकामा पहिरोपछि छौडिया खोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका दुई मंगलबार विहान मृत फेला परेपछि मृतको संख्या तीन पुगेको हो ।

गएराति रौतामाई गाउँपालिका ७ का अर्जुन तामाङको ९ वर्षिय छोरा आर्यन तामाङलाई बाढीले बगाएर मृत्यु भएको छ । छौडिया खोला उदयपुरगढी गाउँपालिका ८ सिम्लेको रातमाटेमा पहिरोले थुनिएर ताल बनेको थियो । सोही पहिरो खोलिँदा रौतामाई गाउँपालिका ७ मुर्कुचीका तामाङको घरमा पसेको थियो । पानी गाई बाख्रा गोठमा छिरेपछि श्रीमतिसहित छोरा बाख्रा खोल्न जाँदा छोरालाई बाढीले बगाएको अर्जुनले बताए । उनले भने, “१० मिनेटमात्रै खोलामा बाढी आयो, श्रीमति सहित छोरालाई बगायो । श्रीमति एक सय मिटर तल बाँसको झ्याङमा अडकिन भने छोरा घर फर्केर आइन् ।

अर्जुनका छोरा आर्यन करिव १० किलो मिटरको तल त्रियुगा नगरपालिका ६ स्थित त्रियुगा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले बताए । उनका अनुसार सोही गाउँपालिका ८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको छ । उनको शव करिव एक सय मिटर तलसम्म पुर्याएको थियो । दुवै शवको कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिए ।

मुर्कुची बजार वारपार गर्ने काठेपुल बगाउँदा आवत जावतमा समस्या भएको छ । यस अघि चौदण्डीगढी नगरपालिका ४ का मन कुमार तामाङलाई बगाएर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…