बसमा अचेत भेटिएका खगेन्द्रको नोवेलमा उपचार हुँदै , नशालु पदार्थ सुँघाएर बेहोस बनाएपछि लुटेको आशंका


विराटनगर / काठमाडौंबाट इटहरी सम्मका लागि बसमा चढेका धनकुटाको साँगुरीगढी गाउँपालिका ३ घर भई सुनसरीको धरान उपमहानगरपालिका ११ मा बसोबास गर्दै आएका ३५ वर्षीय खगेन्द्र लिम्बू अचेत अवस्थामा भेटिएका छन् । ना ६ ख १५६१ नम्बरको कोसी डिलक्स बस भित्र अचेत अवस्थामा भेटिएका उनी अहिले भने होसमा फर्किएका छन् । १९ महिना अघि बैदेशिक रोजगारीका लागि दुवई गएका उनी दाजुकी छोरीका विहेका लागि घर फर्किएका थिए । काठमाडौं आइपुगेपछि शनिबार साँझ उनी काठमाडौंको गोंगबुबाट इटहरीका लागि बसमा चढेका हुन् । त्यही क्रममा बस भित्रै आइतबार विहान अचेत अवस्थामा भेटिएका थिए ।

इटहरीमा ओराल्न खोज्दा अचेत भेटिएपछि बसले सिधै उनलाई विराटनगर नै लिएर आएको थियो । विराटनगर बसपार्कमा रोकिएको बसबाट आफन्तले उठाएर उनलाई उपचारका लागि कोसी अञ्चल अस्पतालमा भर्ना गरेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि खगेन्द्रलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलको आईसीयूमा राखेर उनको उपचार थालिएको छ । उपचारमा संलग्न नोबेलका चिकित्सक आशिष चौधरीले अहिले सम्म बेहोस हुनुको कुनै कारण खुल्न नसकेको बताए । ‘हाम्रै निगरानीमा राखेर ल्याबदेखि विभिन्न परीक्षणहरु गरिरहेका छौं,’ उनले भने, ‘अहिले सम्म बेहोस हुनुको कुनै कारण खुल्न सकेको छैन ।’ बिरामीमा देखिने लक्षणका आधारमा मात्रै उपचार गर्ने काम भइरहेको डा. चौधरीको भनाइ छ । उनले कुनै वस्तु सुँघाएर बेहोस बनाएको हुन सक्ने पनि बताए ।

कुनै नशालु पदार्थ सुँघाएर बेहोस बनाएपछि उनलाई लुटेको हुन सक्ने आशंका आफन्त र प्रहरीको छ । इटहरी ओर्लनु पर्ने यात्रु यात्राकै क्रममा बेहोस भएको भन्दै बसका कर्मचारीले उनलाई विराटनगर बसपार्कमा ल्याएर आफन्तको जिम्मा लगाएका हुन् । सोमबार दिउँसोबाट होसमा आएका लिम्बूले धनुषाको ढल्केबरमा ओर्लिएर चिया खाएर गाडीमा चढेपछि आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले बेहोस हुनु अघि आफूसंग दुवईको सात सय रुपैयाँ र नेपाली २६ हजार रुपैयाँ साथमा रहेको जानकारी दिएको दाजु प्रेमकुमार लिम्बूले बताए । उक्त पैसा र १० ग्रामको सुनको औंठी भने अहिले साथमा नरहेको उनले बताए । साथमा रहेको मोवाइल तथा घाँटीमा लगाएको सुनको सिक्री चैं साथमै भेटिएको थियो । पैसा र औंठी भने बेहोस बनाएर लुटेको हुन सक्ने आशंका परिवारको छ ।

खगेन्द्र बसेको छेउको सिटमा एक जना ट्राफिक प्रहरी पनि बसेका थिए । महानगरिय ट्राफिक प्रहरी महाशाखाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका लागि रवना पत्र लिएर हिंडेका ट्राफिक जवान नरबहादुर आलेमगर खगेन्द्रको छेउकै सिटमा बसेको खुलेको छ । ‘खगेन्द्र र ट्राफिक जवानबीच राति चिनजान र कुराकानी समेत भएको रहेछ,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘तर खगेन्द्र बेहोस भएको कुरा भने ट्राफिक जवानले इटहरीमा आइपुगेपछि मात्रै थाहा पाएछन् ।’ ट्राफिक जवान आलेमगर पनि झापा नगइकन साथी भेट्न भन्दै सोही बसमा चढेर विराटनगर नै आएका छन् । उनीमाथि समेत प्रहरीले सोधपुछ थालेको छ । सोधपुछका क्रममा आलेमगरले गाडीमा यात्रा गर्दा चिनजान भएको र लिम्बू कति बेला बेहोस भएको हो भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘इटहरी झर्नु पर्ने मान्छेलाई विराटनगर ल्याएर मात्रै आफन्तलाई जानकारी दिइयो,’ दाजु प्रेमकुमारले भने, ‘बेहोस अवस्थामा विराटनगर ल्याउनुको पछाडि धेरै रहस्यहरु लुकेका छन् ।’ उनले बसका कर्मचारी र छेउको सिटमा बस्नेमाथि अनुसन्धान सुरु गरे घटनाको वस्ताविकता पत्ता लाग्ने बताए । प्रेमकुमारले इटहरीमै ओराल्न खोज्दा गाडीमा बेहोस भेटिएपछि बसका कर्मचारीले नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खवर गर्नु पर्नेमा त्यसो नगरिकन सिधै विराटनगर ल्याएर मात्रै आफन्तलाई जानकारी दिएकाले घटना रहस्यमय रहेको बताए । उनले आइतबार विहान ८ बजे विराटनगर आइपुगेको बसका कर्मचारीले बेहोस यात्रुलाई उपचारका लागि लैजानु पर्नेमा त्यसको दुई घण्टापछि १० बजे परिवारका सदस्य पुग्दा उपचारमा नलगिकन बसको पछाडिको सिटमा लगेर सुताइदिइरहेको अवस्थामा भेटिएकाले घटनालाई गम्भीर रुपमा लिइएको बताए ।

‘यस घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि तत्काल कारवाही गर्नु पर्छ,’ उनले भने, ‘बेहोस बनाउने कुनै पदार्थ सुँघाएर लुटपाट गरिएको हो भन्ने हाम्रो ठम्याई छ ।’ उनले यस्तो घटनाका कारण सार्वजनिक सवारी साधनमा यात्रा गर्न पनि डरमर्दो स्थिती बनेको बताए । प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले पनि खगेन्द्रलाई सोमबार अस्पतालमै पुगेर भेटेका छन् । तुम्वाहाङले घटनाको सत्यतथ्य छानविन गरेर वास्तविकता पत्ता लगाउन र कोही दोषी भेटिएमा कारवाही अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

प्रहरीले बसका कन्डक्टर मोरङ सुन्दरहरैंचा नगरपालिका ६ का अनिश राई र सहचालक सुनसरी भन्टावारीका २१ वर्षीय शिवनारायण यादवमाथि सोधपुछ थालेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कुनै कुरा खुलिनसकेको बताए । ‘बस भित्र यात्रु कसरी बेहोस हुन पुगे भन्ने कुरा नै खुलिरहेको छैन,’ उनले भने, ‘त्यही पनि हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’ डीएसपी श्रेष्ठका अनुसार बाटोमा तीन÷चार ठाउँ बसहरु रोकेको देखिन्छ । उनले गाडी रोकेको ठाउँमा नास्ता खाँदा फुट पोइजन भएर स्वास्थ्यमा यस्तो समस्या आएको हुन सक्ने पनि बताए ।

तपाईको प्रतिक्रिया