प्रहरीको गोली प्रहारबाट भोजपुरमा विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।
घिमिरेको तिघ्रामा गोली लागेको थियो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उनको मृत्यु भएको जानकारी दिए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ ।

-file pic

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…