पाँचखपन र चिचिलामा दुई घर जलेर नष्ट

संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका वडा नं ३ मा एक घर जलेर नष्ट भएको छ । कबिर राईको घर स्थानीय उतर बहादुर राईले भाडामा लिई संचालन गर्दै आएका थिए । उक्त घरमा शुक्रबार राती चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । राईको घरसंगै किराना पसलमा रहेको ३० बोरा चामल, अन्य किराना मालसामानहरु, नागरिकता, मोटरसाईकलको बिलबुक र लाईसन्स समेत पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिहिबार दिउँसो पाँचखपन नगरपालिका वडा नंं ३ भकारेमा गजेन्द्र गिरीको घरमा आगलागी हुँदा पूर्ण रुपले जलेर नष्ट भएको छ । उक्त घरमा सुरेन राई बस्दै आएका थिए । राई खानेपानीको पाईप बनाउन गएको बेला भान्सा कोठाबाट आगो सल्किएर आगलागि भएको वडाध्यक्ष शुक्रराज राईले बताए । आगलागीबाट घर भित्र रहेको अन्न, काठपात, भाडावर्तन समेत पूर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष राईले बताए । घर बनाउनका लागी काटेर राखेको सखुवाको काठ करिब दुई सय किबी जलेर नष्ट भएको स्थानीय विनोद राईले बताए ।

तपाईको प्रतिक्रिया

Loading…