नेपाल परिवार दलद्धारा अभिभावक विहीन तीन बालकलाई नगद सहयोग


विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–७ कुँडेलीका तीन जना बेसहारा बालकलाई नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अभिभावक विहीन १५ वर्षीय दिपक, नौ वर्षीय राजीव र पाँच वर्षीय रोशन राजवंशीलाई ढकालले सहयोग गरेका हुन् । सेतो मच्छरको टोकाईबाट बुवा फगुलालको २०७० साल र आमा सन्तोषी राजवंशीको गत साउनमा मृत्यु भएपछि तीन बालक अभिभावक विहीन बनेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर राजवंशी दम्पत्तिको मृत्यु भएको जनाइएको छ ।

बुवा, आमाको मृत्युपछि उनीहरुलाई फूपु सरसादेवी राजवंशी र मावलकी हजुरआमा ७० वर्षीय कृष्णवति राजंवशीले संरक्षण गर्दै आएकोमा फूपुको पनि यही पुस तेस्रो साता मृत्यु भएको थियो । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष ढकालले तीन बालकका लागि उपलब्ध गराएको ५० हजार रुपैयाँ पार्टीका केन्द्रीय सदस्य अशोक कुमार चौधरी र तीर्थराज घिमिरेले सुनवर्षी नै पुगेर हस्तान्तरण गरेका हुन् । बृद्ध अवस्थाकी हजुरआमाले संरक्षण गर्न सक्ने अवस्था नभएपछि तीनै जना बालक दुई सातादेखि रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित ठूलीआमा उर्मिलादेवी राजवंशीको घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया