नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा / आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत कार्यक्रमले इलेक्टोनिक ड्रायर र रोलिङ मेसिन राखेर अर्थोडक्स चियाको गुण परीक्षणसँगै नयाँ चिया जात अनुसन्धान शुरु गरेको कार्यालयका निमित्त प्रमुख महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ ।

चिया अनुसन्धानमा केही वैज्ञानिकको आवश्यकता रहेको छ सो दरबन्दी पूरा भए अनुसन्धानले आगामी पाँच वर्षमा चियाको आफ्नै जात तयार गरेर विश्व बजारमा लैजाने योजना रहेको केन्द्रले बताएको छ ।

नेपाली चियाको जात नभएका कारण परेका विभिन्न समस्यालाई समाधान गर्न चिया क्षेत्रमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान केन्द्रमा १६ जना वैज्ञानिकको दरबन्दीमा हाल सातजनाले धनकुटा जिल्ला र इलाम जिल्लाको तीन स्थानमा अर्थोडक्स चियामा अनुसन्धान गरिरहेको यादवले बताउनुभयो ।

झापा जिल्लामा उत्पादन हुने सिटिसी चिया र अन्य जिल्लाका उत्पादित चियामा समेत अनुसन्धान गर्न शुरु गर्ने कार्यालयको योजना रहेको यादवले बताउनुभयो । धनकुटा जिल्लाको कूल ५१४ हेक्टरमा चियाखेती हुँदै आएको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…