नयाँ प्रमुख आएसँगै मोरङ ट्राफिकको महत्वकांक्षी कार्ययोजना, विराटनगरलाई जाममुक्त गराउनेदेखि पार्किङ व्यवस्थापनसम्म

विराटनगर / मोरङ ट्राफिकको नयाँ प्रमुखका रुपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) राकेशकुमार पोद्धार आएका छन् । उनले कार्यालयमा हाजिर भएर शुक्रबारबाट काम थाले । ऐतिहाँसिक, औद्योगिक एवं राजनीतिक सहर विराटनगर प्रदेश १ को राजधानी भएकाले पनि यहाँ ट्राफिक प्रमुखको हेरफेरले निक्कै महत्व राख्छ । यस अघि प्रमुख रहेका शिव पोखरेलले अवकाश पाएपछि ट्राफिक प्रमुखका रुपमा तेह्रथुम दरबन्दी भएका इन्सपेक्टर पोद्धारलाई प्रहरी प्रधान कार्यालयले मोरङ पठाएको हो ।

नयाँ प्रमुखका रुपमा कार्यभार सम्हालेसँगै पोद्धारले महत्वकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले शुक्रबार विराटनगरलाई सवारी जाममुक्त बनाउने महत्वपूर्ण कार्ययोजना सार्वजनिक गरेर त्यसलाई पहिलो प्राथमिकतमा राखेको जानकारी दिए ।
ट्राफिक व्यवस्थापन चुस्त बनाएर विराटनगरलाई सवारी जाममुक्त बनाइने पोद्धारले बताए । पछिल्लो समय सवारी साधनको चाप बढेसँगै जाम बढेर यहाँको ट्राफिक व्यवस्थापन डावाडोल र भद्रगोल बनेको छ । पोद्धारले महानगर र प्रदेश सरकार समेतका सरोकारवाला निकायसँग समन्वय गर्दै विभिन्न उपाय अवलम्बन गरेर ट्राफिक व्यवस्थापन सम्बन्धीका सबै खाले कामलाई निरन्तरता दिइने पनि बताए ।

‘प्रदेश राजधानी विराटनगरमा सवारी साधनको चापसँगै जाम बढेकाले सवारी साधन तथा मानिसलाई आवतजावतमा असहज भइरहेको र दुर्घटना पनि बढेको पाइयो,’ उनले भने, ‘ त्यही भएर विराटनगरलाई सवारी जाममुक्त बनाएरै छाड्ने अठोटका साथ काम अघि बढाइएको छ ।’ विराटनगरमा ‘वाइपास’ सडक नभएकाले पनि जामको समस्या बेहोर्नु परेको बताउँदै पोद्धारले व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण, बढ्दो सिटी सफारी र टेम्पो व्यवस्थापन, फुटपाथका पसलको व्यवस्थापन, ट्राफिक निगरानी, चालक लक्षित जनचेतनामुलक कार्यक्रम, ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही र जथाभावी सवारी साधन रोक्ने प्रवृत्तिको अन्त्य गरेर प्रदेश राजधानीलाई जाममुक्त बनाइने जानकारी दिए ।

पार्किङ स्थल नबनाउने विभिन्न संघ संस्था र अस्पताललाई तत्काल बनाउन सम्बन्धीत निकायमार्फत आग्रह गरिने उनको भनाइ छ । प्रहरी निरीक्षक पोद्धारले ट्राफिकका तर्फबाट पनि पार्किङस्थलको पहिचान र व्यवस्थापन गर्ने काम समेत हुने बताए । ‘लामो तथा छोटो दूरीका सवारी साधनले यात्रुलाई धेरै हैरान दिने गरेको पाइयो । कुनैले छोटो दूरीका यात्रु नउठाउने र यात्रु उठाउनेले पनि बढी भाडा लिने गर्दा रहेछन्,’ उनले भने, ‘त्यसलाई रोक्दै सबै खाले सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने छ । म आफै ‘फिल्ड’ मा खटिएर सबै खाले सवारी साधनको निगरानी गर्ने छु ।’

उनले राजमार्ग तथा भित्री सडकका बीच भागमा रहेका पोलहरु सडक तथा महानगर लगायतका सरोकारवालासँग समन्वय गरेर तत्काल हटाइने र सवारी साधनको प्रदूषण जाँचको व्यवस्था पनि चाँडै गरिने जानकारी दिए । त्यस बाहेक ट्राफिक चेकजाँच, मापसे गर्ने लगायतका नियम उल्लंघन गर्नेलाई कारबाही, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन, जेब्राक्रस निर्माण समेतका नियमित ट्राफिकिङलाई निरन्तरता दिइने पोद्धारको भनाइ छ ।

उनले कोसी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौकदेखि बरगाछीसम्मको २ किलोमिटर सडक खण्डलाई ‘नो पार्किङ जोन’ बनाइने बताए । कोही कसैले सडकमा पार्किङ गरेर नियमको उल्लंघन गरेमा ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरिने उनको भनाइ छ । जथभावी गरिने अव्यवस्थित पार्किङकै कारण राजमार्ग अस्तव्यस्त बन्ने गरेको र त्यसले धेरै असजिलाहरु एवं अवरोधहरु सिर्जना गरेर सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक पोद्धारले बताए । उनले बरगाछी र कञ्चनबारीमा दुईवटा बस विसौनी बनाउन आवश्यक रहेकाले तत्काल काम थालिने बताए ।

Loading…

तपाईको प्रतिक्रिया