दुई लाख भारु नोटसहित एक जना पक्राउ

विराटनगर / दुई लाख रुपैयाँ भारतीय नोटसहित एक जनालाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ । पाँच सय दरका चार सयवटा नोटसहित पक्राउ पर्नेमा भारत बनारसका २५ वर्षीय आसुतोष सोनी रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट पक्राउ गरिएको हो ।

प्रहरीकाअनुसार पक्राउ परेका सोनी प्रतिबन्धित भारतीय नोट लिएर विराटनगरबाट काठमाडौं जाँदै थिए । उनी एक साताका लागि नेपाल आएको खुलेको छ । उनी भारतको बनारसमा रहेको जेजे प्लाष्टिक उद्योगको सेल्स मेनेजर हुन् । शंका लागेर चेकजाँच गर्ने क्रममा सोनीले बोकेको झोलामा दुई लाख रुपैयाँ भारतीय रकम बरामद भएको प्रहरीले जनाएको छ ।

उनले बाटो खर्च वापत रकम बोकेको र भारतीय नोट नेपालमा प्रतिबन्धित हो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन् ।
बरामद भएको रकमसहित पक्राउ परेका सोनीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…