थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी / धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ । वर्ष दिनमा गाउँको सिँचाइका लागि कुलोपानी, बाटो, सडकबत्ती निर्माणलगायतको विकासको कामको लागि आफूलाई पुनःसोही पदको जिम्मेवारी लिन गाउँलेले आग्रह गरिरहेको चौधरीले बताउनुभयो । भादा गाउँ नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको नमूना थारू गाउँ पनि हो ।

कैलारी गाउँपालिका हसुलिया गाउँका भलमन्सा सुकदेव चौधरीले आफूले बहन गर्दै आएको जिम्मेवारीवाट यो वर्ष मुक्त हुने सोच बनाउनुभएको छ । गाउँमा गुरुवा (झारफुक गर्ने वैद्य)को समेत भूमिकामा रहनुभएका सुकदेवले दुई पदको जिम्मेवारी एकै व्यक्तिले बहन गर्न गाह्रो भएकाले भलमन्साको पद त्याग्ने मनस्थिति बनाउनुभएको हो ।

दुई वर्षदेखि भलमन्साको काम गर्दै आउनुभएका धनगढीको जाली गाउँका भलमन्सा हीरालाल चौधरीको काम सन्तोषजनक नभएको भन्दै यस वर्ष अर्कै व्यक्तिलाई सो पद दिने तयारीमा गाउँलेबीच छलफल शुरु भएको छ । “काम गर्ने योग्यता एवं क्षमताको अभावका कारण उहाँले गाउँको कामका लागि समय दिन नसकेको गुनासो आएको छ”, स्थानीय डिलबहादुर चौधरीले भन्नुभयो, “सम्भवतः एक दुई दिनभित्र बस्ने कचहरीमा नयाँ नेतृत्व छनोट गर्ने तयारी छ ।”

जाली गाउँमा आयोजित माघी मेला महोत्सव आज सकिएको छ । महोत्सवमा थारू संस्कृति, कला, परम्परा, वेषभूषा, खानपिनसम्बन्धी क्रियाकलाप गरिएको थियो ।

थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा ‘माघी’(माघे सङ्क्रान्ति) पर्वलाई मनाउने गर्दछन् । पर्वको रौनकताका बीच यतिबेला चौधरी थारू समुदायको गाउँ बस्तीमा भलमन्सा छनोटको विषयले पनि प्राथमिकता पाउन थालेको छ ।

यो समुदायमा परम्परागत रुपमा गाउँको रेखदेखको नेतृत्व गर्ने एकजना बडघर (भलमन्सा) को खाँचो पर्छ । यो परम्परागत चलन नै हो थारू समुदायको । माघीको दोस्रो दिन आज शुरु हुन लागेको ‘माघी डेवानी’ मा थारू गाउँको नेतृत्वकर्ताको रुपमा बडघर चयन प्रक्रिया शुरु भएसँगै यो बस्तीमा भलमन्सा छनोट गर्ने चटारो पनि देखिएको छ ।

बडघरअर्थात् भलमन्साजस्तै अन्य नेतृत्वकर्तामा गाउँको हुलाकीको काम गर्ने चिरकिया (चौकीदार), घरमूली (गरढुरिया) को समेत छनोट हुने गर्दछ । थारू गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व रहने थारू अगुवाको भनाइ छ । समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, विजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने यावत काम गाउँको नेतृत्वकर्ताले गर्ने गरेको हसुलियाका थारू अगुवा रामबहादुर चौधरी बताउनु हुन्छ ।

“निकै प्रजातान्त्रिक ढङ्गले भलमन्सालगायतका पदको चयन गरिन्छ, उहाँले थप्नुभयो, “एकभन्दा धेरै उम्मेदवार भएमा मतदानको प्रक्रियासमेत अपनाइन्छ ।” भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’मा (अंशबण्डा) निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ । “अंशबण्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले आफ्नो घरको जिम्मेवारीका साथै भलमन्सालगायतका पदको जिम्मेवारी बहन गर्न नसक्ने हुँदा सो जिम्मेवारीमा रहेको व्यक्तिलाई पदबाट मुक्त बनाइन्छ”, रामबहादुरले भन्नुभयो ।

वर्षभरिको भलमन्सा पदको जिम्मेवारी बहन गर्ने व्यक्तिलाई पारिश्रमिकबापत कतिपय बस्तीमा गाउँलेको निर्णयअनुसार खाद्यान्न उपलब्ध गराइन्छ । माघीपर्वमा गाउँ सञ्चालन गर्न नयाँ नीति नियम बनाउने, नेतृत्व छनोट गर्ने, वर्षभरिको कामको समीक्षा गर्ने र नयाँ योजनाअनुसार अगाडि बढ्ने काम गर्छन् ।

वर्षभरिको हिसाबकिताब गर्ने र चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने काम गर्नेहुँदा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरिएको हो । थारू समुदायमा बडघर प्रथाको ठूलो महत्व राहने गर्छ । सकेसम्म सर्वसम्मतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि थारू समुदायमा बडघर(भलमन्सा) छनोट गर्ने गरिन्छ ।

बडघरले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो प्रचलनका कारणनै गाउँको अनुशासन कायम हुने र सामूहिकरुपमा काम गर्ने सदियौँदेखिको प्रचलन थारू गाउँमा रहने गरेको छ । त्यसले गाउँको एकता र सामूहिक भावनाको विकास हुने र अर्कोतिर गाउँको अनुशासन पनि कायम हुने बुझाइ थारू अगुवाको छ ।
रासस

तपाईको प्रतिक्रिया