डेरी उद्योगको गाडीले ठक्कर दिएका अर्का युवाको पनि मृत्यु

विराटनगर / डेरी उद्योगको गाडीले विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोलाको पुलमा ठक्कर दिएर घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।

घाइते भएपछि न्युरो अस्पताल विराटनगरमा उपचाररत धनपालथान–४ का १५ वर्षीय मोहम्मद कैफको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । दुर्घटनामा परेर अवस्था गम्भीर भएका कैफको टाउकाको शल्यक्रिया गरिएको थियो । झापाको मेचीनगर नगरपालिका–१३ इँटा भट्टामा रहेको एनएमसी डेरी उद्योगको दूध बोक्ने मे १ च ४६०९ नम्बरको पिकअप भेनले मंगलबार ठक्कर दिंदा तीन जना घाइते भएका थिए ।

दुर्घटनामा परेर मंगलबार नै १५ वर्षीय मोहम्मद जवारको मृत्यु भएको थियो । १५ वर्षीय कैफ र १८ वर्षीय इशाक अन्सारी गम्भीर घाइते भएका थिए । दुवै जनाको न्युरो अस्पतालमा उपचार भइरहेकोमा कैफको पनि मृत्यु भएपछि उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो । अस्पतालमा उपचाररत अर्का घाइते अन्सारीको पनि अवस्था गम्भीर रहेको चिकित्कसले बताएका छन् ।

घर नजिकै रहेको मस्जिदमा नमाज पढेर फर्कने क्रममा तीनै जनालाई डेरी उद्योगको दूध बोक्ने गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीका चालक मेचीनगर–७ का गोविन्द अधिकारीलाई सवारी ज्यान मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…