डेङ्गुमा सजग रहन आग्रह

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले डेङ्गुको सङ्क्रमणबाट बच्न सजग रहन आग्रह गरेको छ । निर्देशनालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले पोखरा महानगरपालिका वडा नं ८ र ९ सहितका वडाका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएकोले त्यसबाट बच्न पूर्वसजगता आवश्यक भएको बताउनुभयो ।डेङ्गु लामखुट्टेको टोकाइले सर्ने रोग हो । उहाँले एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट यो रोग सर्ने जानकारी दिनुभयो । यो रोगको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास भई नसकेकाले समयमा नै उपचारको लागि जानुपर्ने उहाँले बताउनुभयो ।

निर्देशनालयका सूचना अधिकारी डा भोजराज गौतमले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको धारणा राख्नुभयो । लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले अनावश्यकरुपमा नाङ्गो नबनी जीउ ढाक्ने लुगा लगाएर निस्कन आग्रह गर्नुभयो ।लामखुट्टेले गाडीको पुरानो टायर, खुला टयाङ्की, गमलाजस्ता भाडाँमा जमेको सफा पानीमा फूल पार्ने हुँदा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो ।

रोग लागेको बिरामीलाई झुल भित्र सुताएमा रोग सर्ने सम्भावना कम हुने र व्यक्तिगत बचावटका लागि लामखुट्टेनासक मलहम लगाउनुपर्ने उहाँको भनाइ थियो । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले डेङ्गु सङ्क्रमणबारे पूर्वसचेतना गराउन विभिन्न वडामा सचेतना एवं लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुसभयो ।

तपाईको प्रतिक्रिया

Loading…