जबरजस्ती करणी आरोपमा चार पक्राउ

कैलाली / कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडित किशोरी सोही नगरपालिका–१ स्थित चनौरामा रहेको आफन्तको घरमा यही वैशाख १ गते भेटघाट गर्न गएकी र मङ्गलबार बिहान आफ्नो घर धनगढीतर्फ फर्किने क्रममा खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका चार जनाको समूहले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त समुहले धारिलो हतियार देखाई पीडितसँगै रहेका तीन जनालाई कुटपिटसमेत गरी पीडितलाई त्यहाँबाट झण्डै १०० मिटर टाढा एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…