जनशक्तिको अभावमा विराटनगर महानगरपालिकाले प्रयोगमा ल्याउन सकेन ब्रुमर

माेरङ / दक्ष जनशक्तिको अभावमा धुलो सफा गर्ने गाडी ब्रुमर विराटनगर महानगरपालिकाले दुई महिनादेखि प्रयोगमा ल्याउन सकेको छैन । गएको असोज महिनामै सडकको धुलो सफा गर्नका लागि महानगरपालिकाले स्वीपर भ्याक्युम टाइप पावर ९५ एचपी नामक भारतीय टाटा कम्पनीको ब्रुमर गाडी खरिद गरेको थियो । तर, सो सवारी चलाउन हालसम्म दक्ष जनशक्ति नभेटिंदा बु्रमर महानगरपालिकाको कम्पाउण्डमै सीमित रहेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले धुलो सफा गर्नका लागि महानगरले ल्याएको गाडी दक्ष चालककै अभावमा सञ्चालनमा ल्याउन नसकेको बताए । उनले भने, ‘दक्ष चालकका लागि आवेदन माग गरेका छौं । केहीको आवेदन पनि आएको छ । छिटै सञ्चालनमा ल्याउने तयारी छ ।’

महानगरले सडक निर्माण तथा विस्तारका क्रममा अत्याधिक धुलो भएको जनगुनासो संगै गतवर्ष नै बु्रमरको खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाएको थियो । जसमा इटेण्डरमार्फत म्याप इन्टरप्राइजेज प्रा.लिले गाडी ढिलोगरि असोजमा महानगरलाई उपलब्ध गराएको हो । इन्टरप्राइजेजले निर्धारित समयमा ब्रुमर उपलब्ध गराउन नसक्दा ४० हजार रुपैयाँ जरिवाना समेत तिरेको महानगरको जिन्सी शाखाले जनाएको छ । महानगरले धुलो सफा गर्ने यस बु्रमर गाडी म्याप इन्टरप्राइजेजसंग ५५ लाख रुपैयाँमा खरिद गरेको हो ।

महानगरले गत असोजमै ल्याएको गाडी पहिलोपटक प्रयोग गर्ने क्रममा सामान्य प्राविधीक खराबीसंगै थन्किएको थियो । यद्धपि हाल गाडी प्रयोगका लागी तयारी अवस्थामा रहेको तर, दक्ष चालकको अभावमा काममा ल्याउन नसकेको महानगरले जनाएको छ । यस गाडीको लागि चालकसंगै अन्य दुईजना सफाइ कर्मचारी आवश्यक रहने बताइएको छ । यसलाई प्रयोगमा ल्याउन सके धुलोको समस्या केही हदसम्म नियन्त्रणमा ल्याउन सकिने बुझाई सर्वसाधारणमा रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया