चितवनमा सिलिण्डर ग्यास विष्फोट

चितवन / नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा सिलिण्डर ग्यास विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ ।

खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताउनुभयो । बन्दको प्रभाव जिल्लामा परेको छ । बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन् । राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

Loading…