घरबास सञ्चालनमा मुक्तकमैया महिला

भीमदत्तनगर / कुनै बेला घरको चुलोचौको र खेतबारीको काममा समय बिताउने वाणी मुक्तकमैया शिविरका जमुना चौधरीको दिनचर्या अचेल फेरिएको छ । गत कात्तिकको तेस्रो सातादेखि बस्तीमा घरबास (होमस्टे) सञ्चालनमा आएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी मुक्तकमैया शिविरकी उहाँको दैनिकीमा पाहुनालाई स्वागतदेखि परम्परागत परिकारको स्वाद चखाउनेसम्म थपिएको छ ।

जमुना जस्तै बस्तीमा रहेका पाँच महिला मिलेर सञ्चालन गरिएको विजयाली सामुदायिक होमस्टमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ ।मुलुकमै पहिलोपटक मुक्तकमैया बस्तीमा सञ्चालनमा आएको घरबासमा बितेको एक महीनामा १०० भन्दा बढी पर्यटकलाई स्वागत गरिसकेको घरबास सञ्चालक महिलाको भनाइ छ ।

“साहुको हलिया हुँदै हिजोआज होमस्टे सञ्चालकसम्म भइयो”, विजयासाल सामुदायिक घरबास समितिका अध्यक्षसमेत रहनुभएकी जमुनाले भन्नुभयो, “थारु समुदायको संस्कृतिसहितको नृत्य र परम्परागत पहिरन आगन्तुकको मुख्य आकर्षण भएका छन् ।” उहाँले पर्यटकहरू थारु परिकारबाट सन्तुष्ट भएर जाने गरेको बताउनुभयो ।पूर्व–पश्चिम राजमार्गको वाणीस्थित मछेली नदी किनारको उक्त शिविरमा पाँचवटा घरमा घरबास शुरु गरिएको हो ।
“बर्दियादेखि मुलुकका अन्य विभिन्न भागमा सञ्चालित घरबास देखेर हामीलाई पनि केही गरौँ भन्ने हौसला मिलेकाले यो काम शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो, “सडकदेखि यहाँसम्म यातायात सुविधा भएको हुनाले पर्यटकको आवागमन पनि सहज भएको छ ।”

होमस्टे सञ्चालनमा ल्याउन यहाँको जयलक्ष्मी सामुदायिक वनबाट घर बनाउन काठ उपलब्ध हुनाका साथै हरियो वन कार्यक्रममार्फत प्रतिघर घरबासका लागि रु ३० हजार उपलब्ध गराइएको थियो ।पर्यटकलाई थारु नृत्य देखाउन पनि बस्तीमा राम्रै तयारी छ । “चार वटा नाचको अहिले रु दुई हजार लिने गरेका छौँ”, घरबासकी सचिव प्रदेशनी चौधरीले भन्नुभयो, “कोठामा रात बसेको रु ५०० र खानाको रु १५० देखि रु ३०० सम्म छ ।”

पर्यटकका मागअनुसार थारु परिकारसमेत खुवाउने प्रबन्ध पनि गरिएको छ। “गाउँका धेरै थारु महिला अझै मछेलीमा गिट्टी कुटेर परिकारका लागि खर्च जुटाइरहेका छन्”, उहाँले भन्नुभयो, “बस्तीका युवा र प्रौढ मजदुरीकै लागि पलायन भइरहेकका अवस्थामा हामी भने यही नै व्यवसाय सञ्चालन गर्न सक्षम भएका छौँ ।”

सरकाले विसं २०५८ मा यहाँ पुनःस्थापना गरिएका मुक्त कमैया ५६८ परिवारलाई यहाँ व्यवस्थापन गरी प्रतिपरिवार चारदेखि पाँच कट्ठा जमीन उपलब्ध गराएको थियो । “पर्यटकलाई जैविक तरकारी खुवाउन चार कट्ठामा तरकारी खेती पनि गरेकी छु”, चौधरीले भन्नुभयो, “यहाँ उत्पादित तरकारीले बजार पाउन सकेको छैन ।”

“घरबास व्यवस्थित बनाउन स्थानीय तहसित गुहार मागेकामा अहिलेसम्म उपलब्ध भएको छैन , अन्य क्षेत्रको तुलनामा दातृ निकायबाट यस कार्यमा हामीलाई अहिलेसम्म सहयोग जुट्न सकेको छैन”, उहाँले भन्नुभयो, “तर आश्वासन भने धेरै ठाउँबाट पाएका छौँ ।”

त्यसैगरी बस्तीकै विस्पती चौधरी पनि गृहिणी हुँदै घरबास सञ्चालक बन्नुभएको छ । उहाँले घरबासलाई आंशिक रोजगारीका रुपमा आफूले लिएको बताउनुभयो । “घरमा खाली बस्नुभन्दा घरबास सञ्चालनले रोजगारी मिलेजस्तै भएको छ”, उहाँले भन्नुभयो, “घरबास राम्रो हँुदै गए यसलाई निरन्तरता दिन्छौँ ।”
रासस

तपाईको प्रतिक्रिया

Loading…