गाउँमै चामल

सिञ्जा / कनकासुन्दरी–५ बडुवालबाडाका परेगराज बडुवाल विसं २०४५ मा पहिलो पटक खाद्य संस्थानको चामल लिन खलङ्गा पुग्नुभयो । उहाँले त्यहाँ पुग्दा एक दिन र फर्किदा दुई दिन लगाएर जम्मा ३० केजी चामल मात्रै ल्याउन पाउनुभयो । तत्कालीन गाविसबाट कुपन लिएर तीन दिन लगाएर संस्थानको चामल ल्याउनुपरेको उहाँले अहिले पनि ती दिन झलझली सम्झिदै भन्नुभयो, “सडक नपुग्दासम्म सदरमुकाम खलङ्गा पुगेर भए पनि संस्थानको चामल ल्यायौँ तर सडक पुगेपछि पनि कति वर्षसम्म संस्थानको चामल कस्तो छ देख्न पनि पाएनौँ । संस्थानको चामल अहिले झन सर्वसाधारणको पहुँचसम्म पनि पुगेन् ।”

झण्डै दशकपछि भने हिँउचुली सहकारीमार्फत दुर्गम गाउँमा सुपथ मूल्यमा संस्थानले वितरण गर्दै आएको अनुदानको चामल पाउँदा स्थानीयवासी दङ्ग छन् । लामो समयपछि गाउँमै अनुदानको चामल पाउन थालेकाले अब बजारको महङ्गो चामल किन्न बाध्य हुनेछैनौँ । बल्ल संस्थानको चामल सर्वसाधारणको पहुँचसम्म पुगेको अनुभूति हुन थालेको छ खाद्य संस्थान जुम्ला शाखा कार्यालयले गाउँगाउँमा सहकारीमार्फत संस्थानको चामल बेच्न थालेपछि स्थानीयवासी निकै खुसी छन् ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकामा हिँउचुली सहकारी संस्था लिमिटेडबाट गाउँपालिका अध्यक्ष नरवीर रावतले सुपथ मूल्यमा संस्थानको चामल किनबेच भएको औपचारिक रुपमा घोषणा गरेसंगै यहाँका सर्वसाधारणले सहजै अनुदानको चामल पाउने भएका हुन् । उक्त सहकारीका अध्यक्ष हंसराज न्यौपाने संस्थानको चामल सहकारीले भाडा जोडेर बिक्री गर्ने बताउनुभयो ।

संस्थानको चामलसँगै दाल, नुन, चिनी पनि सहजै रुपमा उपलब्ध गराइने भएको छ । गाउँमा अरुवा सोना मन्सुली प्रति बोरा रु एक हजार ५८०, अरुवा मोटो चामलको प्रति बोरा एक हजार ४३० र जापानी चामल प्रति बोरा एकहजार ३७० मा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…