खोटाङमा वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

१६ वर्षे बालिकालाई जागिर दिएर उनैसँग विहे


खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा अध्यक्ष विरुद्ध उजुरी परेपछि उनले बालविवाह गरेको खुलासा भएको हो ।

वडामा भएका विभिन्न भ्रष्ट्राचारको विषयमा परेको उजुरीमा उनले बालिकासँग विवाह गरेको पनि खुलाइएको छ । उजुरी अनुसार २०५८ साल चैत्र २७ गते जन्मिएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले गएको साउन महिनामा विवाह गरेको हुन् । स्थानीय पञ्जिकाधिकारिको कार्यालयमा २०५९ चैत्र १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको परीक्षापत्रमा समेत २०५८ चैत्र २७ गतेकै जन्म मिति देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्षमूनीको विवाह गैर कानूनी हो । अझ बालिकासँग सहमतीमा नै शारीरिक सम्बन्ध भएपनि बलात्कार भएको ठहर हुने कानूनले व्यवस्था गरेको छ । बालविवाह स्वतः बदर हुने समेत देवानी संहिताले व्यवस्था गरेको छ । राउतले विवाह गर्दा देवानी संहिता कार्यान्वयनमा नआएपनि मुलुकी ऐनको व्यवस्था अनुसार नै विवाहको लागि तोकिएको उमेर २० वर्ष थियो ।

स्रोतका अनुसार वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको बेला बालिका १६ वर्ष ४ महिनाकी थिइन् । वडा अध्यक्ष राउत हलेसी तुवाचुङ नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत हुन् ।

मैले विवाह नै गरेको छैन : वडा अध्यक्ष राउत

वडा अध्यक्ष राउतले विवाह गरेको तस्वीर समेत प्राप्त भएको छ । तर, वडा अध्यक्ष राउत भने आफूले विवाह नै नगरेको दाबी गर्छन् । ‘म २९ वर्षको भएँ’ वडा अध्यक्ष राउतले भने, ‘मैले विवाह नै गरेको छैन । विपक्षीले मसँग प्रतिशोध लिन उजुरी गरेका होलान् ।’

बालविवाह नै भएको हो भने कारबाही हुन्छ ः मेयर राई

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईे आफूलाई वडा नम्बर ६ का अध्यक्षले बालविवाह गरेकोबारे जानकारी नआएको बताउँछन् । ‘मलाइ बाल विवाह भएको विषयमा कुनै जानकारी, उजुरी आएको छैन’ मेयर राईले भने, ‘बालविवाह नै भएको हो भने कानून बमोजिमको कारबाही हुन्छ ।’

यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारबाही

नेपालमा २०७५ भदौ १ गतेबाट मुलुकी ऐनलाई विस्थापित गरेर ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ । नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर महिला पुरुष दुबैको लागि २० वर्ष तोकेको छ । ऐन अनुसार बालविवाह भएको अवस्थामा बिवाह स्वतः बदर हुने कानूनी व्यवस्था छ । देवानी संहिता अनुसार २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ ।

१६ वर्षे बालिकालाई जागिर दिएर उनैसँग विहे

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–६ स्थित मङ्गलटारको पीपलडाँडा देवीस्थान माध्यामिक विद्यालयले १६ वर्षकी बालिकालाई शिक्षक राखेको छ । विद्यालयले वडा कार्यालयको निर्देशनमा विद्यालयले बालिकालाई शिक्षण पेशामा राखेको हो । गएको वैशाखको १३ गतेदेखि बालिकाले पढाउन थालेकी हुन् । त्यतिबेला उनको उमेर १६ वर्ष २ महिनाको थियो । सोही वडाकी बालिकाको जन्म २०५८ साल चैत २७ गते भएको वडा कार्यालयमा २०५९ साल चैत १ गते गरिएको जन्मदर्तामा उल्लेख छ । पीपलडाँडा देवीस्थान माध्यामिक विद्यालयका प्रधानाध्यापक राजकुमार तिमिल्सिनाले वडा कार्यालयले वडा अध्यक्षको हस्ताक्षरमा उनलाई हाजिरी गराउन निर्देशन पत्र पठाएपछि पढाउने अनुमती दिएको बताउँछन् ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर वडालाई प्राथमिक तहमा अंग्रेजी माध्यममा पढाउने २ जना शिक्षकको स्रोत व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार वडा कार्यालयले भने आफै विज्ञापन निकालेर, शिक्षक छनौट पनि वडाले नै गरेर पठाएपछि हाजिर गराएको प्रधानाध्यापक तिमिल्सिनाले बताए । १६ वर्षकी बालिकासँगै अर्का शिवराज राईलाई पनि प्राथमिक तहमा पढाउन वडा कार्यालयले सिफरिस गरेको छ । उनीहरु दुबैजनालाई छुट्टै हाजिरी गर्ने व्यवस्था गरि पढाउन दिएको उनले बताए ।

उनीहरुले कति पारिश्रमिक लिन्छन् भन्ने पनि विद्यालयलाई थाहा छैन । कागजात पनि विद्यालयसँग छैन । उनले भने, ‘स्थानीय सरकारले भनेको हामीले कसरी नमानौं, पत्र नै आएपछि हामीले कागजात नखोजी पढाउन दिएका हौं ।’
प्रधानाध्यापक तिमिल्सिनाकै अनुसार वडा कार्यालयले सिफारिस गर्दा १६ वर्षकी बालिका एसईई पनि उत्तीर्ण भएकी थिइनन् । अहिले भने उनी कक्षा ११ मा पढ्दैछिन् ।

बालिकालाई शिक्षक नियुक्ति गरेको विषयमा जानकारी लिन हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष रमेशकुमार राउतलाई पटक पटक टेलिफोन तथा म्यासेज गर्दा उनले प्रतिक्रिया जनाएका छैनन् ।हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवान राई भने वडा अध्यक्षले नगरको स्रोत नभइ व्यक्तिगत स्रोतबाट सेवा सुविधा दिनेगरि शिक्षक नियुक्ति गरेको दाबी गर्छन् । उनले भने, ‘मैले वडा अध्यक्षसँग यो विषयमा बुझ्दा व्यक्तिगत ढंगले स्वयंसेवी रुपमा नियुक्ति गरेको बुझियो ।’

विद्यालयले भने लिखित रुपमा नै शिक्षक नियुक्तिको लागि पत्र पठाएको जनाएको छ । खोटाङको जिल्ला शिक्षा समन्वय इकाइमा पनि विद्यालयले दुई जना शिक्षकको नियुक्तिबारे कुनै जानकारी गराएको छैन । इकाई प्रमुख ठाकुर ढकाल बालिका शिक्षक नियुक्तिबारे कार्यालयमा लिखित जानकारी नआएको बताउँछन् ।

मौखिक रुपमा विद्यालयका प्रधानाध्यापकसँग बुझ्दा भने वडा कार्यालयले नै तलब दिनेगरी नियुक्ति गरेको जानकारी आएको उनले बताए । प्रमुख दाहालले शिक्षक सेवा आयोगको नियमावली अनुसार शिक्षक बन्न कम्तिमा १८ वर्ष उत्तीर्ण र शिक्षण अनुमति पत्र अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था भएको बताए ।

‘विद्यालयमा १६ वर्ष मात्रै पुगेको बालिकालाई शिक्षक नियुक्ति गर्नु नियम विपरित हो’ इकाई प्रमुख दाहालले भने, ‘एकातिर शिक्षण नियमावली मिचिएको छ भने अर्काेतिर बालिकालाई श्रममा लगाएर श्रम शोषण भएको छ ।’

पहिले जागिर त्यसपछि विहे

तिनै १६ वर्षकी बालिकालाई बैशाखको १३ गते शिक्षक जागिर लगाइदिएर साउन महिनामा वडा अध्यक्ष राउतले विवाह गरेका छन् । वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको समयमा बालिकाको जन्मदर्ता अनुसार उमेर १६ वर्ष ४ महिनाको थियो । यहि चैत १ गते बालिका १७ वर्षकी भएकी छिन् ।
यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको प्रदेश कार्यालय विराटनगरमा वडा अध्यक्ष राउत विरुद्ध उजुरी परेको छ । आयोगको केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी आएको पुष्टि गर्दै आयोगले आज मंगलबार उजुरी दर्ता गरि कारबाहीको प्रकृयामा लैजाने तयारी गरेको जानकारी दिए ।

अख्तियारमा परेको उजुरीको पहिलो बुँदामा बालविवाहबारे यस्तो उल्लेख छ ।

वडाध्यक्ष राउत कानुनी मस्यौदा संयोजक छन् । तर, उनी आफै कानूनको खिल्ली उडाउँछन् । यसको उदाहरण हो शिक्षिका रेनुका बस्नेतको नियुक्ति । बस्नेतले भर्खरै एसईई परीक्षा मात्रै दिएकी थिइन् । उनको शिक्षक लाइसेन्स त परै जाओस, नागरिकतासम्म थिएन । उमेर पनि १८ वर्ष पूरा भएको थिएन । तर, यी सबै कुरालाई बेवास्ता गर्दै वडाध्यक्षले बस्नेतलाई नियुक्ति गरे । २०७५ बैशाख ७ गते वडा कार्यालयमार्फत् उनले नियुक्ति गरेका हुन् । नियुक्ति गर्दा मौखिक परीक्षा मात्रै लिएका वडाध्यक्षले योग्य उम्मेद्वार सुगा बिकलाई फालेर बस्नेतलाई गैरकानुनी नियुक्ति गरेका हुन् । उनले गैरकानुनी नियुक्ति मात्रै गरेनन् २०७५ साउनमा उनै बस्नेतसँग विवाह समेत गरेका छन् । उनले २०७५ साउनमै उनै बस्नेतसँग गैरकानुनी रूपमा १७ वर्ष पूरा नभइकन विवाह गरे ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

निमोनियाका कारण वडाध्यक्षको निधन

खोटाङका टुहुरा बालबालिकालाई प्रवासबाट सहयोग

सेवाग्राही झुक्याउँदै आइएएमई काउन्टर संचालक

प्रशासनको निर्देशन पछि खुम्बुमा एशोसियसनले कोठाभाडा उठाउन छाड्यो

विद्यालयमा मोबाईल निषेध

सगरमाथामा चीनले शौचालय बनाउँदै

लुक्लामा जहाज दुर्घटनामा : ज्यान गुमाउनेहरुको सनाखत घाइतेहरुको पनि परिचय खुल्यो

पर्यटकिय चाप बढे सगै खुम्बुमा जोक्पेको माग बढयो

खोटाङमा जिप दुर्घटनामा एकको मृत्यु

ओखलढुङगामा हराईरहेका एक व्यक्तिको शव फेला

तपाईको प्रतिक्रिया