कोरोनाविरुद्ध भोजपुरमा उच्च सतर्कता

भोजपुर / कोरोना भाइरस नियन्त्रणका लागि भोजपुरमा पनि उच्च सतर्कता अपनाइएको छ । लकडाउनलाई जिल्लामा कडाइका साथ कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सवारी साधन भित्रिने नाका धनकुटा र भोजपुरको सिमाना लेगुवाघाट, संखुवासभा र भोजपुरको सिमाना सटिघाट, भोजपुर र खोटाङको सिमाना चखेवाभञ्याङ, जिल्लालाई दक्षिणी क्षेत्रबाट उदयपुरसंँग जोडने रानीटारलगायत सम्पूर्ण नाका बन्द छन् ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भन्नुभयो,‘‘ जिल्लामा कोरोनाको संक्रमण रोक्नको लागि उच्च सतर्कता अपनाइएको छ, जिल्लामा मानिसहरु भित्रिने सम्पूर्ण नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ, स्थानीयवासीलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री कमी हुन दिइएको छैन ।’’
बाहिरी जिल्लाबाट आएका मानिसमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख मगरले भन्नुभयो‘‘ जिल्लामा सुरक्षा व्यवस्था राम्रो बनाइएको छ, संक्रमण फैलिन नदिन अन्य जिल्लाबाट आएका मानिसहरुलाई हामीले उच्च निगरानी बढाएका छाँै ।’’जिल्लमा अहिले क्वारेन्टाइनमा दुई जना मात्र छन् । उनीहरुको अवस्था पनि सामान्य रहेको जनाइएको छ । षडानन्द नगरपालिकामा विदेशबाट आएका दुई स्थानीयवासीलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । अरुण गाउँपालिकामा होम क्वारेन्टाइनमा रहेका एक जनालाई भने ज्वरो बढेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । यही चैत ४ गते कतारबाट आएका ती एक व्यक्ति होम क्वारेन्टाइनमा रहेका थिए । उनलाई ज्वरो बढेपछि गाउँपालिकाले उपचारका लागि चैत १५ गते धरान पठाएको हो ।

तपाईको प्रतिक्रिया

Loading…