कोरोनाका कारण रोकिएको सुनसरी जिल्ला अदालतको सेवा सुरु

इनरुवा / लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको नियमित सेवा सुरु भएको छ । जिल्ला अदालत सुनसरीको पूर्ण बैठकले नियमित काम कार्वाही सहितका सेवा प्रवाह सुचारु गर्ने निर्णय गरेको हो । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार साउन १५ गतेको निर्णय अनुसार स्थगित सेवा सुचारु गर्ने निर्णय भएको हो । सोहीअनुरुप सेवा प्रारम्भ भइसकेको समेत पोखरेलले बताए ।

सेवा सुचारु भएको विषय जिल्लाबासीमा कमै मात्रामा जानकारी भएको कारण बिहिबार र शुक्रबार न्यून संख्याका सेवाग्राही मात्र अदालती सेवाका लागि पुगेकोमा आइतबार बाट भने सो क्रम बढ्न सक्ने पोखरेलले बताए । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो ।

सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । सुनसरी जिल्ला अदालतले सेवा प्रवाह नियमित गरिए सँगै सामाजिक दुरी र स्वास्थ्य सावधानी भने अनिवार्य गरेको छ । कार्यालयमा प्रवेश गर्दा साबुन पानीले हात धुने देखि मास्क लगाउने र सामाजिक दुरीलाई कडाईका साथ लागु गरिने श्रेस्तेदार पोखरेलले बताए । नियमित काम कार्वाही र सेवा प्रवाह थालिएको बताए पनि सुनसरी जिल्ला अदालतले फिल्डमा गएर सम्पादन गरिने सेवा भने तत्काल उपलब्ध नहुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…