केशलिया खोला डिलको निर्माणाधिन पार्क विवादमा

विराटनगर / विराटनगर महानगरपालिका–५ शंकारबारीस्थित केशलिया खोलाको डिलमा निर्माणाधिन अवस्थामा रहेको हरित पार्क विवादमा तानिएको छ । प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको लागतमा आर्थिक वर्षको अन्त्यमा हतारहतार गरेर पार्क निर्माण भइरहेको छ । आर्थिक वर्षको अन्त्यमा असारे विकासका रुपमा काम अघि बढाइएको पार्कको हिसाबकिताब अपारदर्शी रहेको भन्दै उपभोक्ता समितिमा आवद्ध भएकाबीच नै विवाद बढेको छ । मन्त्रालयले उपभोक्ता समिति गठन गर्दै वैशाखमा सम्झौता गरेर पार्क निर्माणको काम अघि बढाएको थियो । खोलाको डिलमा पार्क बनाइएको भन्दै यस अघि नै विरोध भएको थियो । खोलाले कटान तीव्र पारेर पार्क निर्माणस्थल बगाउने अवस्था रहे पनि बजेट सक्न धमाधम काम अघि बढाइएपछि स्थानीय असन्तुष्ट र आक्रोसित बनेका छन् । स्थानीय अशोक मण्डलले तटबन्ध बनाएर खोलो नियन्त्रण गरेपछि मात्रै पार्क बनाउनु पर्नेमा त्यसो नगरिएको बताए । तटबन्ध नगरिएको र पूर्वतर्फ (पार्क निर्माणस्थल) कटान तीव्र पारेका कारण खोलाले पार्क नै बगाउने अवस्था आएको उनको भनाइ छ ।

केही व्यक्तिलाई कमाउन मिल्ने हिसाबमा वडा अध्यक्ष मीनकुमार आचार्यले विशेष पहलमा असुरक्षित र खोलाका कारण जोखिममा परेको ठाउँमा पार्क बनाउने काम भइरहेको स्थानीयको भनाइ छ । मनोज खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्दै एक विघा १२ कट्ठा क्षेत्रफलमा पार्क निर्माणको काम भइरहेको छ । स्थानीय बासिन्दाले पटकपटक जनप्रतिनिधि र मन्त्री समक्ष तटबन्धको कुरा राखिसकेका छन् । मुख्यमन्त्री शेरधन राईदेखि समस्याको बारेमा सुनेका सबैले तटबन्ध बनाउने आश्वासन दिएको लामो समयसम्म पनि कुनै प्रक्रिया भने अघि बढ्न नसकेको स्थानीय डोमा मण्डलले बताए ।

पार्क निर्माण उपभोक्ता समितिका सदस्य सनोज मण्डलले उपभोक्ता समितिका अध्यक्ष खड्काले पार्कको सबै हिसाबकिताब गोप्य राखेको गुनासो गरे । कसरी काम भइरहेको छ र अहिलेसम्म कति खर्च भयो भन्ने पनि नदेखाइएको उनले बताए । आफूखुसी काम अघि बढाइएसँगै पार्क निर्माणको रकम हिनामिना गरेको हुन सक्ने सदस्य मण्डलको भनाइ छ ।

अपारदर्शी ढंगले बजेट बराबरको काम सक्ने गरी अध्यक्ष खड्का एकलौटी रुपमा अघि बढेको गुनासो उनले गरे । उनकाअनुसार वर्खाका समयमा कमसल सामग्रीको प्रयोग गर्दै काम अघि बढाएपछि उपभोक्ता समितिमा रहेकाले हिसाबकिताब मागिएको हो । सबै हिसाबकिताव देखाउन आलटाल गरिएकाले पनि धेरै शंका उब्जिएको मण्डलको भनाइ छ । उनले कति खर्च भइसक्यो भन्ने यकिन गर्न अध्यक्षले नसकेका कारण पार्क निर्माण विवादमा तानिएको बताए । उनकाअनुसार कमसल सामग्रीको प्रयोग र लापरबाहीपूर्ण तथा गुणस्तरहीन कामका कारण निर्माणको सुरुमै पार्क निर्माण विवादित बनेको थियो । वडा अध्यक्ष आचार्यले पार्क निर्माणमा कुनै विवाद नरहेको र यसलाई विवादित बनाउने काम पत्रकारहरुले गरिरहेको आरोप लगाए । उनले तटबन्ध निर्माणको काम आफ्नो वडाको क्षमता भन्दा बाहिरको कुरा भएको भन्दै सरकारले पनि बजेट नछुट्याएको आरोप लगाए ।

पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले आन्तरिक एवं बाह्य पर्यटकलाई घुमफिर गर्ने एवं बालबालिकालाई खेल्ने ठाउँको अभाव हुन नदिन पार्कले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । पार्क निर्माणको हिसाबकिताब सबै पारदर्शी रहेकाले कुनै विवाद नभएको उनको जिकिर छ । पार्कले स्थानीयलाई फाइदा पुग्ने भएकाले विवाद र झमेला गर्नु बेकार भएको उनले बताए । असार १५ सम्ममा सक्नु पर्ने भए पनि ‘लकडाउन’का कारण सामान नपाउँदा र वर्षाले धेरै अवरोध गरिरहेकाले काम भने लम्बिएको खड्काको जिकिर छ । उनले म्याद थप गर्न निवेदन दिइसकिएको बताए । पार्क निर्माण स्थलमा कम्पाउण्ड वाल, चौतारो, शौचालय बनाउने र वालको बुट्टा काट्ने काम भइरहेको जानकारी उनले दिए । प्राविधिक स्टिमेटअनुसार पाँचवटा चौतारो बनाउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…